Notes on दोषी चस्मा | Grade 10 > Nepali > दोषी चस्मा | KULLABS.COM

दोषी चस्मा

  • Note
  • Things to remember
  • Exercise

 

दोषी चस्मा

विश्वेश्वर प्रसाद कोइरालाको परिचय :

नाम         –     विश्वेश्वरप्रसाद कोइराला 

जन्म        –     वि.सं.१९७१ बनारस, भारत

कार्यक्षेत्र      –     साहित्य र राजनीति

विधा        –     गद्य (मनोवैज्ञानिक)

मृत्यु        -     वि.सं. २०३९

 

      माता दिव्या र पिता कृष्णप्रसाद कोइरालाका पुत्रको रूपमा वि.सं.१९७१ सालमा जन्मिएका विश्वेश्वरप्रसाद कोइराला नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री तथा नेपाली, हिन्दी भाषाका साहित्यकार हुन् । नेपाली भाषा साहित्यमामा उनले मनोबैज्ञानिक कथाहरूको नयाँ प्रयोग गरे | प्रसिद्ध राजनितिज्ञ, प्रजातान्त्रिक समाजवादका चिन्तक एवं प्रयोक्ता कोइराला स्वतन्त्र रुपमा उत्कृष्ट साहित्य सिर्जना गरेर नेपाली वाङमयमा नयाँ चिन्तन, नयाँ आयाम, नयाँ परम्परा र शैली दिएर सदाका निम्ति अमर बनेका छन् । फ्रायडवादी मनोवैज्ञानिक साहित्यकार कोइरालाको राजनीति र साहित्यमा सक्रिय रहेकै अवस्थामा वि.सं. २०३९ निधन भयो |

कृतिहरू:

सुम्निमा, तीन घुम्ती,  नरेन्द्रदाइ, मोदिआइन, हिटलर र यहुदी, बाबु, आमा र छोरा, दोषी चस्मा,   श्वेतभैरवी आदि |

कथाको सारांश :

       सुप्रसिद्ध मनोवैज्ञानिक कथाकार विश्वेश्वरप्रसाद कोइरालाको 'दोषी चस्मा' नामक कथाको शीर्षक नै स्वयंमा प्रतीकात्मक छ। यसले केशवराजको दृष्टिकोणलाई प्रतीकात्मकरूपमा प्रष्ट्याएको छ। कथामा केशवराजले चस्मामाथि पोखेको रिस, कोठामा पुगेर उनले लुगा फुकाल्न लाग्दा टिमिक्क परेको सुरुवाल उनको गोडाबाट हत्तपत्त निस्कन नसकेको अवस्थामा उत्पन्न हुनपुगेको उनको रिसको आवेग आदि विविध पक्षले उनीभित्र समाहित हीन मनोग्रन्थी सम्बद्ध जटिल समस्याको गहनतालाई प्रतीकात्मक रूपमा प्रष्ट्याउने काम गरेको छ। विविध किसिमका प्रतीकात्मक शब्द र वाक्यगठनहरूका माध्यमबाट केशवराजमा व्याप्त भ्रमलाई प्रकटीकरण गर्ने र यसकै माध्यमद्वारा राणाकालीन समसामयिक सामाजिक यथार्थ उद्घाटित गर्नुका साथै आफूलाई ठूलो र अरूलाई सानो ठान्ने एवं देख्नेहरूबाट केशवराजले खेप्नुपरेको मानसिक चिन्ताको साथै उसको मनस्तापी व्यक्तित्वमाथि पनि कथाकार कोइरालाले केशवराजको 'दोषी चस्मा' का माध्यमबाट नै प्रतीकात्मक रूपमा प्रकाश पारेका छन्।

      कथामा अन्तर्मुखी पात्र केशवराजको मनभित्रका प्रत्येक मनोवृत्तिलाई खोतलखातल गरी त्यसलाई यथार्थरूपमा उद्घाटित गर्ने र त्यसका माध्यमबाट चाकरी प्रथाको झाँको झार्दै यस प्रथाप्रति ठूलो व्यङ्ग्य र उपहास गर्ने कार्यमा विभिन्न किसिमका प्रतीकात्मक शब्द र वाक्यहरू प्रयोग भएका छन् । यसका कसीमा पनि मानिसका भित्री मनको चिरफार गर्ने कार्यमा कथाकार कोइराला निक्कै खप्पिस कथाकारका रूपमा देखिएका छन् |

       कथा अत्यन्त प्रौढ सोचमा आधारित छ र यसले प्रत्येक मानिसलाई आफू हुनुको अस्तित्वको खोजि गर्दै प्रतीकात्मकरूपमा समाजको परिवर्तन प्रक्रियामा अघि बढ्न मानिसले आफूभित्र अन्तर्निहित शक्ति र सामथ्र्यको भित्री स्तरलाई उकासेर बाहिरी परिवेशमा व्याप्त प्रत्येक विकृत संस्कार र वातावरणको अन्धकारलाई चिर्न अग्रसर हुनुपर्ने विषयलाई चित्रित गर्नपुगेको पाइन्छ। मानिसको मनभित्र दमित इच्छा र चाहनाहरूलाई मूर्तरूप प्रदान गर्न मनभित्र नै परिवर्तन आउनुपर्छ र त्यसलाई बाहिरी परिवेशमा पनि चित्रित गर्न सार्थक प्रयास गर्नुपर्छ। यसको अभावमा समाज परिवर्तन हुनसक्दैन र समाज परिवर्तनका लागि समाज सुहाउँदो आचरण र जीवनलाई सङ्घर्षशील तुल्याउनु सक्नुपर्छ भन्ने सत्यतथ्यमा पनि यो कथाले प्रतीकात्मक रूपमा मार्मिक प्रकाश पार्नसकेको पाइन्छ। यसकै सापेक्षतामा कथाकार कोइरालाको 'दोषी चस्मा' कथालाई एउटा उत्कृष्ट मनोवैज्ञानिक कथाका रूपमा लिन सकिन्छ ।

 

 



  • विश्वेश्वरप्रसाद कोइरालाको जन्म  वि.सं.१९७१ बनारस, भारत भएको  हो |
  • विश्वेश्वरप्रसाद कोइरालाको कृतिहरू सुम्निमा, तीन घुम्ती,  नरेन्द्रदाइ, मोदिआइन, हिटलर र यहुदी, बाबु, आमा र छोरा, दोषी चस्मा,   श्वेतभैरवी आदि  हो |
  • यस कथामा   केशवराजको दृष्टिकोणलाई प्रतीकात्मकरूपमा प्रष्ट्याएको छ।
  • कथाकार कोइरालाको 'दोषी चस्मा' कथालाई एउटा उत्कृष्ट मनोवैज्ञानिक कथाका रूपमा लिन सकिन्छ ।

     

.

Very Short Questions

विश्वेश्वरप्रसाद कोइरालाद्वारा लिखित 'दोषी चस्मा' शीर्षक कथामा सामान्य कर्मचारीको यथार्थतालाई देखाउने काम गरेको छ | कथामा सामान्य स्तरका कर्मचारीहरूले समय अनुसार उच्च पदस्थ व्यक्तिहरूको चाकरीमा आफूलाई लगाउनुपर्ने देखिन्छ | त्यस्ता व्यक्तिहरूको दैनिक चाकरी गरेमा कर्मचारीलाई नै पूर्ण रूपमा सन्तुष्टि प्राप्त हुने र जागिर तथा पेशा पनि दिगो हुन सक्ने कुराको सङ्केत कथामा पाइन्छ | यदि चाकरी गर्न नसकेको खण्डमा एकातिर सम्माननीय व्यक्तिको सम्मानमा आँच पुग्न सक्छ भने अर्कातिर त्यस्ता सामान्य कर्मचारीहरूको मानसिक रूपमा निकै नै विचलित हुन सक्छन् भन्ने कुरा कथामा देखाइएको छ | कथाका चरित्र केशवराज जर्साबको चाकरी गर्नमा सानो गल्ती भएकोमा दुई तीन दिनसम्म आफूलाई पूर्ण दोषी बनाउँदै आफ्नो जागीर जाने, परिवारको पालनपोषण अवरोध उत्पन्न हुन सक्ने स्थितिको समेत भयले आफू ग्रसित भएको देखिन्छ |

कथाका पात्र केशवराज सधैँ जर्साबको चाकरीमा जानुपर्थ्यो, ऊ प्रत्येक दिन बिहान र दिउँसो गरी दुईपटक जर्साबको चकरीमा जान्थ्यो, एक दिन कामको लागि जर्सबकामा गएर फर्कदा जर्साबलाई स्वस्ति गर्न सक्दैन कारण उसको चश्माको पावर घटेको हुन्छ, यही घटनाबाट उसका मनमा एकप्रकारको भय र शङ्का र उत्पन्न हुन्छ | त्यही भय र त्रासले भरिएको मन बोकेर उनी घरमा पुग्छ | घरमा पुग्दा ऊ निकै चिन्ताग्रस्त भएका हुन्छ | उसलाई खान पनि मन लाग्दैन, रिस मात्र उठ्छ, ऊ त्यतिकै सुत्न जान्छ | भोको पेट र मनमा उब्जेका अनेक किसिमका डरका कारणले केशवराज रातभरि निदाउन सकेन |

यस कथामा पात्र केशवराज धरैनै शङ्कालु स्वभावका छन् | उनी सानो कुरालाई पनि तिलको पहाड बनाएर त्यसै सशङ्कित बन्ने प्रवृत्तिका व्यक्तिको रूपमा देखिन्छन् | दैनिक चकारीमा जानु उनको दिनचर्या जस्तै हो | जर्साबको चाकरी गर्न सके उनी सन्तुष्ट हुन्थे भने चाकरी गर्न नसक्दा असाध्यै असन्तुष्ट हुन्थे | कुनै दिन चाकरी गर्न नपाउँदा उनीलाई डर लाग्थ्यो | उनका मनमा शाङ्का र भय उत्पन्न हुन्थ्यो | जर्साबको चाकरी नगर्दा जागीर नपाइने भयो, बाँच्न पनि नसकिने भइयो भन्दै उनी ठुलो चिन्ताले पिरोल्थियो | समग्रमा भन्दा उनी कमजोर मनस्थिति, मनमा भय र सङ्कुचित चारित्रिक विशेषताहरू भएका व्यक्ति थिए |

वर्तमान समयमा जे-जस्तो परिस्थिति प्राप्त भए पनि पहिला जागीरको प्रसङ्गमा चाकरी प्रथा महत्वका साथ लिइन्थ्यो | यदि कसैको चाकरी गरे सजिलै जागीर पहिन्थ्यो | यही चाकरी प्रथाबाट हुने मुख्यमुख्य तीन बेफाइदाहरु निम्नानुसार छन् :

अ) चकारी प्रथाले मानिसहरूको स्वाभिमानमा ठूलो असर पुग्न् सक्छ |

आ) यस प्रथाले मानिसहरूको मानसिक स्थिति नै बिगरिदिन सक्छ |

इ) यस प्रथाले योग्य व्यक्तिलाई अयोग्य र अयोग्य व्यक्तिलाई योग्य बनाइदिन सक्छ |

यौनमनोवैज्ञानिक  कथाकारका रूपमा प्रसिद्धि पाएका कथाकार कोइरालाले लेखेको मनोवैज्ञानिक कथा 'दोषी चस्मा' शीर्षक र कथावस्तुका बीच आपसमा राम्रो तालमेल रहेको छ | यस कथामा न त केशवराज दोषी छ न त जर्साब नै दोषी छन् | दोष छ त केवल केशवराजको चस्माको, यदि उसको चस्माको पावर ठीक भएको भए यस्तो अप्ठ्यारोमा पर्ने थिएनन् | उनी यति धेरै पिरमा पनि पर्ने थिएनन् | चस्माले जर्साबको गाडीको नम्बर र गाडीभित्र बसेका जर्साबलाई समेत राम्रोसँग चिन्न नसकेकोले नै कथामा देखाइएको परिस्थिति सिर्जना भएको पाइन्छ | त्यसैले यस कथाको शीर्षक सार्थक नै देखिन्छ |

दोषी चस्मा कथाले विभिन्न किसिमका सन्देशहरू प्रवाह गरेको छ | पहिले –पहिले नेपालमा जागीर खाने सिलसिलामा धेरै नै चाकरी – चाप्लुसी गर्नुपर्थ्यो भन्ने प्रमुख सङ्केत यस कथामा पाइन्छ | चाकरी गर्नेले जागीर पाएर सहज जीवन जिउँथे भने चाकरी नगर्नेले जागीर नपाइ कष्टकर जीवन जिउँथे भन्ने सङ्केतपूर्ण सन्देश पनि यस कथा मार्फत एकातर्फ पाइन्छ भने अर्कातर्फ जागीर खाने मानिसहरू पनि किसिमका हुन्छन्, उनीहरूको मन शङ्का, डर, आतेसले भरिएको हुन्छ भन्ने सङ्केत यस कथामा पाइन्छ | कुनै स-सानो कुरालाई ठूलो बनाई त्यसैबाट आफ्नो मन दुखाई मानिसहरू बसेका हुन्छन् भन्ने कुरा पनि यस कथाले देखाएको छ | समग्रमा भन्दा जे गर्नु छ त्यसलाई समयमा नै गर्नुपर्छ र यदि त्यसका कारणबाट कुनै घट्ना घट्यो भने त्यसबाट विचलित भएर मनमनै दु:खी हुँदै दिन बिताउनु भन्दा त्यसको समाधान चाँडै पत्ता लगाएर मनलाई शान्त बनाउनुपर्छ भन्ने सन्देश पनि यस कथाबाट पाउन सकिन्छ |

0%

ASK ANY QUESTION ON दोषी चस्मा

No discussion on this note yet. Be first to comment on this note