Notes on भाव | Grade 10 > Nepali > काम खोज्दै जाँदा | KULLABS.COM

भाव

  • Note
  • Things to remember
  • Exercise

भाव / अर्थ 

भाषा प्रयोग गर्ने व्यक्ति (वक्ता वा लेखक) को मनोभाव अथवा मनशायलाई बुझाउँदा फेरिने क्रियाको रूपलाई भाव वा अर्थ भनिन्छ | भावको अभिव्यक्ति क्रियापदको भिन्नताबाट हुन्छ | यस्ता भावहरू सामान्य, आज्ञा, इच्छा, सम्भावना र सङ्केत पर्दछन्,

जस्तै :-

म रोएँ |                          सामान्य अर्थ

तिमी रोऊ |                      आज्ञा अर्थ

तँ रोएस |                         इच्छा अर्थ

तपाइँ रुनुहोला |                सम्भावना अर्थ  

उनीहरू रोए राम्रो हुन्छ |    सङ्केत अर्थ

 

भाव वा अर्थलाई निम्न पाँच प्रकारमा वर्गीकरण गरिएको छ |

 सामान्यार्थ 

वक्ताको सामान्य मनोभाव अभिव्यक्त गर्ने क्रियापद सामान्यार्थ हुन्छ | सामान्यार्थमा निश्चित अर्थको जानकारी वा जिज्ञासा हुन्छ, जसले कुनै कुराको जानकारी दिन्छ |

जस्तै :-

  • म पाठ पढ्छु |
  • तिमीहरू सिनेमा हेर्थ्यौ |
  • आमा बजार जानुहुन्छ |

    माथिका क्रियापदले कुनै कार्य, घटना वा स्थितिका बारेमा हुने र नहुने कुरा जानकारी गराएका छन् |

      प्रश्न व्यक्त गर्ने वाक्यको क्रियापद पनि सामान्यार्थमै हुन्छ | त्यसले निश्चित उत्तरको जानकारी खोज्ने भएकाले प्रश्न नै बुझाए पनि यहाँ सामान्यार्थ अन्तर्गत राखिएको छ |

जस्तै :-

  • हामी कहिले जान्छौँ ?
  • ऊ कसरी लड्यो ?
  • रीता किन बिरामी परी ?

  आज्ञार्थ 

कुनै काम गर्नका लागि आज्ञा / आदेश वा अनुरोधका रूपमा प्रकट भएमा त्यो क्रियापद आज्ञार्थ हुन्छ | आज्ञार्थको क्रियापद प्रथम पुरुष र तृतीय पुरुषमा हुँदैन, मात्र द्वितीय पुरुषमा मात्रै हुन्छ, भने कालको भेद हुँदैन |

जस्तै :-

  • तँ लेख् |
  • तिमी लेख |
  • तपाइँ लेख्नुहोस् |
  • सारधा ! राम्रोसँग पढ्नू | (सर्वनाम लोप भएको)
  • दाजु ! पच्चीस रुपीयाँ दिनुहोस् न | (सर्वनाम लोप भएको)

 इच्छार्थ 

इच्छा, अनुमति, आशीर्वाद, उपदेश, बिन्ती, प्रार्थना आदि भावलाई व्यक्त गर्ने क्रियापद इच्छार्थ हुन्छ | सामान्यतया इच्छार्थको कार्य तत्कालै गरिने हुँदैन वा वक्ताको त्यसमा खास बल पुग्दैन | इच्छार्थको प्रयोग तीनै पुरुषमा हुन्छ तर यसमा कालको भेद हुँदैन |

जस्तै :-

  • म राम्रो खेलूँ |
  • तँ / तैँले राम्रो खेलेस् |
  • उनी राम्रो खेलूँन् / उनीहरू राम्रो खेलूँन् |
  • दिदी राम्रो खेल्नुहोओस् |
  • भगवान / भगवानले आशीर्वाद दिऊन् |

 सम्भावनार्थ 

कुनै सम्भावना, अनुमान, अड्कल आदि अनिश्चितको भाव बुझाउन प्रयोग गरिएको क्रियापदको रूप सम्भावनार्थ हुन्छ | यसमा काम हुने र नहुने कुनै निश्चितता हुँदैन |

जस्तै :-

  • म जाँच दिउँला / म जाँच दिउँली |
  • हामी नाचौँला |
  • ऊ हाँस्ला / मदन हाँस्ला / केटी हाँस्ली |
  • उनी भन्लान् / बहिनी भन्लिन् |
  • तिनीहरू / उनीहरू पढ्लान् |

 सङ्केतार्थ 

कार्य र कारण जोडिएर आउने भाव बुझाएमा त्यसलाई सङ्केतार्थ भनिन्छ | उसमा दुईवटा क्रियापद हुनै पर्छ, जसमध्ये एउटालेकार्य र अर्काले त्यसको कारणलाई देखएका हुन्छन् |

जस्तै :-

  • तैँले राम्ररी पढेको भए उत्तीर्ण हुनेथिइस् |
  • तिमी आयौ भने रमाइलो हुनेछ |
  • ढोका खुले लगाउनू |
  • पानी परे बाटो हिलो हुन्छ |
  • घडी भए समय हेरिन्थ्यो |

यहाँ

 'उत्तीर्ण हुनु' कार्यका लागि 'राम्ररी पढ्नु' कारण बनेको छ | 

 'रमाइलो हुनु' कार्यका लागि 'तिमी आउनु' कारण भएको छ |

 'लगाउनू’ कार्यका लागि 'ढोका खुल्नु' कारण बनेको छ |

 'बाटो हिलो हुनु' कार्यका लागि 'पानी पर्नु' कारण बनेको छ |

 आदि |



 भाषा प्रयोग गर्ने व्यक्ति (वक्ता वा लेखक) को मनोभाव अथवा मनशायलाई बुझाउँदा फेरिने क्रियाको रूपलाई भाव वा अर्थ       भनिन्छ |

- वक्ताको सामान्य मनोभाव अभिव्यक्त गर्ने क्रियापद सामान्यार्थ हुन्छ |

- कुनै काम गर्नका लागि आज्ञा / आदेश वा अनुरोधका रूपमा प्रकट भएमा त्यो क्रियापद आज्ञार्थ हुन्छ | 

- इच्छा, अनुमति, आशीर्वाद, उपदेश, बिन्ती, प्रार्थना आदि भावलाई व्यक्त गर्ने क्रियापद इच्छार्थ हुन्छ | 

.

Very Short Questions

आज्ञार्थ :

१) आमाले त मलाई यता हिड्न लागेको बेलामा 'म बुढीलाई नबिर्सिकन चाँडै फर्किनू है बाबु' भन्नुभएको थियो |

२) मानिसलाई ऋण लागोस् दिन नलागोस् |

सम्भावनार्थ :

१) अब अरूको यस्तो लहैलहैमा लगेर यसरी किन विदेश पसूँला र !

२) भाइबहिनीहरू झोला खोल्न आउलान् |

३) बाआमाले छोराले "के ल्याइदियो होला ?" भनेर आस गर्नुहोला |

४) गाँउका साथीहरूले विदेशबाट धेरै सम्पत्ति लिएर आयो भन्ने ठान्लान् |

५) अब त् यो अनुभवबाट पाठ सिकी अघि बढ्नु नै राम्रो होला |

मेरो सानैदेखिको इच्छा थियो धेरै पढूँ, आफू सक्षम बनूँ, घरपरिवार, समाजलाई पनि सक्षम बनाऊँ, साथै आफ्नो परम्परा तथा संस्कृतिको संरक्षक बनेर समाजसेवा गरूँ, हाल म कक्षा दसमा पढ्छु | मेरो सपना ठूलो भएता पनि एउटा सानो प्रयासले त्यसलाई पूरा गर्न मलाई सधैँ भगवानका साथै मान्यजनको पनि  आशीर्वाद मिलोस् | उमेरले म अहिले सानै भए पनि मेरो सपना पूरा गर्न परिवार, साथीभाई, छरछिमेक, समाज, शिक्षकवर्ग तथा अन्य आफन्तजनको साथ र सहयोग सदैव पाईराहूँ | जसले गर्दा म भविष्यमा गलत बाटोमा नगई असल कार्यतर्फ लक्षित भई एक सच्चा देशभक्त नागरिक बनूँ र सम्बृद्ध देश निर्माणमा लाग्न सकूँ |

 

0%

ASK ANY QUESTION ON भाव

No discussion on this note yet. Be first to comment on this note