Notes on नेपाली वर्ण (कथ्य र लेख्य) को पहिचान | Grade 11 > Nepali > नेपाली हामी रहुला कहाँ नेपाल नै नरहे | KULLABS.COM

नेपाली वर्ण (कथ्य र लेख्य) को पहिचान

  • Note
  • Things to remember

वर्ण 

भाषाको सबैभन्दा सानो अर्थ भेदक एकाइ वर्ण हो। अर्थात वर्ण भाषाको लघुतम विभेदक एकाइ हो। वर्ण भाषा सिकाइको मुख्य आधार हो। शुद्ध उच्चारण र शुद्ध लेखन गर्न वर्णको पहिचानबाट सहयोग पुग्दछ।
वर्णका उदाहरणहरु - अ, आ, क, ख, घ, ज, ट, ड, न, फ, ब, म, आदि।


लेख्य र कथ्य नेपाली वर्णहरु

वर्णलाई उच्चारण गर्न र लेख्न सकिन्छ। वर्णलाई उच्चार्य गरिने वर्णलाई कथ्य वर्ण र लेखिने वर्णलाई लेख्य वर्ण भनिन्छ। बोल्नासाथ समाप्त कथ्य वर्ण हुन्छ भने लेख्य वर्ण पछि सम्म रहन्छ। कथ्य वर्ण उच्चार्य हुन्छ भने लेख्य वर्ण दृश्य र पाठ्य हुन्छ। लेखिने सबै वर्ण उच्चार्य र सबै वर्ण लेख्य हुन्छन्।
लेख्य नेपाली वर्णहरु 
लेख्य नेपाली स्वर वर्ण
अ, आ, इ, ई, उ, ऊ, ऋ, ए, ऎ, ओ, औ, अं, अः
लेख्य नेपाली व्यञ्जन वर्ण 
क, ख, ग, घ, ङ
च, छ, ज, झ, ञ
ट, ठ, ड, ढ, ण
त, थ, द, ध, न, 
प, फ, ब, भ, म, 
य, र, ल, व, श, ष, स, ह, 
क्ष, त्र, ज्ञ 

कथ्य (उच्चार्य) नेपाली वर्णहरु 

कथ्य (उच्चार्य) नेपाली स्वर वर्ण
अ, आ, इ, उ, ए, ओ
कथ्य (उच्चार्य) व्यञ्जन वर्णहरु
क, ख, ग, घ,
च, छ, ज, झ
ट, ठ, ड, ढ
त, थ, द, ध, न
प, फ, ब, भ, म
य, र, ल, व, स, ह

वर्णका प्रकार

वर्णलाई दुई भागमा विभाजन गरिएको छ:

  • स्वर वर्ण
  • व्यञ्जन वर्ण

स्वर वर्ण

फोक्सोबाट निस्किने श्वासमा कुनै वाधा नपरीकन उच्चारण हुने वर्णलाई स्वर वर्ण भनिन्छ। स्वर वर्ण अन्य कुनै वर्णको सहायताबिना नै स्पष्ट रुपले उच्चारित र पूर्ण हुन्छन्। नेपाली भाषामा लेख्य रुपमा १३ ओटा स्वर वर्ण छन् भने उच्चार्य रुपमा ६ ओटा मात्र स्वर वर्ण छन्। लेख्य तथा उच्चार्य नेपाली स्वर वर्णहरुको तालिका दिइएको छ।
लेख्य नेपाली स्वर वर्णहरु
अ, आ, इ, ई, उ, ऊ, ऋ, ए, ऎ, ओ, औ, अं, अः
कथ्य (उच्चार्य) नेपाली वर्णहरु 
अ, आ, इ, उ, ए, ओ 


व्यञ्जन वर्ण

फोक्सोबाट निस्किने श्वासमा वाधा उच्चारण हुने वर्णलाई  व्यञ्जन वर्ण भनिन्छ। यी स्वर वर्णको मद्धतले मात्र स्पष्ट रुपले उच्चारण गर्न सकिने हुन्छन्। लेख्य नेपाली  व्यञ्जन वर्ण ३६ ओटा छन् भने उच्चार्य नेपाली व्यञ्जन वर्ण २९ ओटा छन्। लेख्य तथा उच्चार्य नेपाली व्यञ्जन वर्णहरुको तालिका दिइएको छ:

लेख्य नेपाली व्यञ्जन वर्ण 
क, ख, ग, घ, ङ
च, छ, ज, झ, ञ
ट, ठ, ड, ढ, ण
त, थ, द, ध, न, 
प, फ, ब, भ, म, 
य, र, ल, व, श, ष, स, ह, 
क्ष, त्र, ज्ञ 

कथ्य नेपाली व्यञ्जन वर्ण
क, ख, ग, घ, ङ
च, छ, ज, झ
ट, ठ, ड, ढ
त, थ, द, ध, न
प, फ, ब, भ, म
य, र, ल, व,
स, ह, 

उच्चार्य व्यञ्जन वर्णको वर्गीकरण

उच्चारण स्थानका आधारमा नेपाली व्यञ्जन वर्णको वर्गीकरण

व्यञ्जन वर्णको उच्चारण गर्दा कुन कुन उच्चारण स्थानको भुमिका प्रमुख हुन्छ भनेर हेर्ने आधारलाई उच्चारण स्थानको आधार भनिन्छ। यस आधारमा उच्चार्य नेपाली व्यञ्जन वर्ण ६ प्रकारका छन्:

कण्ठ्य

ओष्ठ्य

दन्त्य

वत्सर्य

तालव्य

अतिकन्ठ्य

क, ख, ग, घ, ङ

प, फ, ब, भ, म, व

त, थ, द, ध,

च, छ, ज, झ/ ट, ठ, ड, ढ/ न, र, ल, स

  • कण्ठ्य : क, ख, ग, घ, ङ
    भित्री घाँटीको तल र माथिका अङ्गहरु जोडिएपछी उच्चारण हुने वर्ण भएकाले यिनलाई कण्ठ्य वर्ण भनिन्छ।

  • ओष्ठ्य: प, फ, ब, भ, म, व
    तल र माथिका दुवै ओठहरु जोदिएपछि उच्चारण हुने वर्ण भएकाले यसलाई ओष्ठ्य वर्ण भनिन्छ।

  • दन्त्य: त, थ, द, ध
    दाँतलाई जिब्रोले छोएपछि उच्चारण हुने वर्ण भएकाले यिनलाई दन्त्य वर्ण भनिन्छ।

  • वत्सर्य/ दन्तमुलीय: च, छ, ज, झ/ ट, ठ, ड, ढ/ न, र, ल, स
    दाँतको फेद दाँतको पछिल्तिर पोरापोरा परेको स्थानमा जिब्रोले छोएपछि उच्चारण हुने वर्ण भएकाले यिनलाई वत्सर्य वा दन्तमुलीय वर्ण भनिन्छ।

  • तालव्य: य
    दाँतको फेदको पोरापोरा ठाउँभन्दा पछाडी चिप्लो र सार्हो तालुको स्थानबाट उच्चारण हुने वर्ण भएकोले यसलाई तालव्य वर्ण भनिन्छ।

  • अतिकन्ठ्य: ह
    घाँटीको फेदबाट उच्चारण हुने वर्ण भएकाले यसलाई अतिकण्ठ्य वर्ण भनिन्छ।

उच्चारण प्रयत्नका आधारमा नेपाली व्यञ्जन वर्णको वर्गीकरण
व्यञ्जन वर्णको उच्चारण गर्दा फोक्सोबाट मुख र नाक हुँदै सास बहिर निस्कन्छ। त्यस सासको गतिमा कुनै न कुनै उच्चारण अङ्गले कुनै न कुनै रुपमा वाधा पार्छन्। वाधा परेपछि पनि सास विभिन्न तरिकाले बाहिर निस्कन्छ। वर्णको उच्चारण गर्दा सासले बाहिर निस्कनका लागि गर्ने त्यो प्रयत्न कसरी हुन्छ भनेर हेर्ने आधारलाई उच्चारण प्रयत्नको आधार भनिन्छ। यस आधारमा नेपाली व्यञ्जन वर्ण ७ प्रकारका छन्:

स्पर्शी

स्पर्श सङ्घर्षी

सङ्घर्षी

नासिक्य

कम्पित

पाश्र्विक

अर्ध स्वर

क, ख, ग, घ/ ट, ठ, ड, ढ/ त, थ, द, ध/ प, फ, ब, भ

च, छ, ज,झ

स, ह

ङ, न, म

य, व

 

  • स्पर्शी: क, ख, ग, घ/ ट, ठ, ड, ढ/ त, थ, द, ध/ प, फ, ब, भ
    दुर्ह उच्चारण अङ्गहरुको स्पर्श भएपछि उच्चारण हुने वर्णलाई स्पर्शी वर्ण भनिन्छ। यस्ता वर्णको उच्चारण गर्दा सासले बाहिर निस्कन कुनै सङ्घर्ष गर्नु पर्दैन।

  • स्पर्श सङ्घर्षी: च, छ, ज,झ
    उच्चारण अङ्गहरु एकअर्कासँग कहीँ न कहीँ छोइनुका साथै सासले सामान्य सङ्घर्ष गरेर निस्कदा उच्चारण हुने वर्णलाई स्पर्श सङ्घर्षी वर्ण भनिन्छ।

  • सङ्घर्षी: स, ह
    वर्णको उच्चारण गर्दा दुर्ह उच्चारण एकअर्काका नजिक आउँछन् तर जोडिदैनन्। यस्तो आवस्थामा सासले बाहिर निस्कने भागमा साघुँरो भइदिन्छ। यस्तो अवस्थामा सासले बाहिर निस्कनका लागि सङ्घर्ष गर्नुपर्छ। यसरी सासले सङ्घर्ष गरि बाहिर निस्क्दा उच्चारण हुने वर्णलाई सङ्घर्षी वर्ण भनिन्छ।

  • नासिक्य: ङ, न, म
    नाकबाट सास बहिर निस्कदा उच्चारण हुने वर्णलाई नासिक्य वर्ण भनिन्छ।

  • कम्पित: र
    जिब्रो कापेको अवस्थामा उच्चारण हुने वर्णलाई कम्पित वर्ण भनिन्छ।

  • पाश्र्विक: ल
    जिब्रोको दुवै छेउबाट सास बाहिर निस्कँदा उच्चारण हुने वर्णलाई पाश्र्विक वर्ण  भनिन्छ।

  • अर्ध स्वर: य, व
    हलन्त उच्चारण हुन नसक्ने र बोलीचालीमा व्यञ्जन वर्णकै रुपमा तथा स्वर वर्णको जस्तै समेत उच्चारण गर्न सकिने व्यञ्जन वर्णलाई अर्ध स्वर भनिन्छ।

घोषत्वको आधारमा नेपाली व्यञ्जन वर्णको वर्गीकरण 
घोषत्वको अर्ध वर्णको उच्चारण गर्दा उत्पन्न हुने आवाज हो।घाँटीभित्र रुद्र घण्टी हुन्छ। रुद्रघण्टीको भित्री भागमा स्वरयन्त्र हुन्छ जसमा मासुले बनेका चिम्टाको आकारमा दुर्ह पत्र हुन्छन्। ती पत्रलाई स्वरचिम्टी भनिन्छ। स्वरचिम्टी खुलेको अवस्थामा मुखबाट सास सजिलै बहिर निस्कन्छ तर स्वरचिम्टी एकअर्काको नजिक भएको बेलामा बाहिर निस्क्ने बाटो साँघुरिनाले बाहिर निस्कनका लागि सासले सङ्घर्ष गर्नु पर्ने हुन्छ। यसरी सङ्घर्ष गरि निस्क्दा ती स्वरचिम्टीलाई सासले धकेल्छ र स्वरचिम्टी थर्किन्छ। वर्णको उच्चारण गर्दा स्वरचिम्टी थर्किने वा नथर्किने अवस्थामा उच्चारण हुने वर्णको आवाजलाई घोषत्व भनिन्छ। यस आधारमा नेपालेव व्यञ्जन वर्णलाई निम्न लिखित दुई भागमा विभाजन गरिएको छ।

  • अघोष वर्ण: क, ख/ च, छ/ ट, ठ/ त, थ/ प, फ/ स
    वर्णको उच्चारण हुँदा स्वरचिम्टीहरु टाढा भई श्वासनली पुरै खुलेको अवस्थामा सास सजिलै बाहिर निस्कन पाउँछ र स्वरचिम्टी थर्किदैँन। यसरी स्वरचिम्टी नथर्किएको अवस्थामा उच्चारण हुने वर्णलाई अघोष वर्ण भनिन्छ। नेपाली भाषाका क, ख, च, छ, ट, ठ, त, थ, प, फ, स अघोष वर्ण हुन्।

  • सघोष वर्ण: ग, घ, ङ/ ज, झ/ ड, ढ/ द, ध, न/ ब,भ, म/ य, र, ल, व, ह
    वर्णको उच्चारण गर्दा स्वरचिम्टी नजिकिई सास बाहिर निस्कने बाटो साँघुरिएको बेला सासले स्वरचिम्टीलाई धक्का दिन्छ र त्यो थर्किन्छ। यसरी सासले धक्का दिई स्वरचिम्टी र त्यो थर्किन्छ। यसरी सासले धक्का दिई स्वरचिम्टी थर्किएको अवस्थामा उच्चारण हुने वर्णलाई सघोष वर्ण भनिन्छ।

प्राणत्वका आधारमा नेपाली व्यञ्जन वर्णको वर्गीकरण
वर्णको उच्चारण गर्दा फोक्सोबाट मुख र नाक हुँदै बाहिर निस्कने सासलाई प्राण भनिन्छ र त्यही सासको थोरै वा धेरै मात्रालाई प्राणत्व भनिन्छ। वर्णको उच्चारण  हुँदा मुख र नाक हुँदै बाहिर निस्कने सासको मात्राका आधारमा नेपाली व्यञ्जन वर्णलाई निम्न लिखित दुई भागमा बाँडी अध्ययन गेने गरिन्छ।

  • अल्पप्राण वर्ण: क, ग, ङ/ च, ज/ ट, ड/ त, द, न/ प, ब, म/ य, र, ल, व
    तुलनात्मक रुपमा मुख र नाकबाट सासको मात्रा कम निस्केको अवस्थामा उच्चारण हुने वर्णलाई अल्पप्राण वर्ण भनिन्छ। नेपाली भाषाका क, ग, ङ, च, ज, ट, ड, त, द, न, प, ब, म, य, र, ल, व अल्पप्राण वर्ण हुन्।
  • महाप्राण वर्ण: ख, घ/ छ, झ/ ठ, ढ/ थ, ध/ फ, भ/ स, ह
    तुलनात्मक रुपमा मुख र नाकबाट सासको मात्रा बढी निस्केको अवस्थामा उच्चारण हुने वर्णलाई महाप्राण वर्ण भनिन्छ। नेपाली भाषाका ख, घ, छ, झ, ठ, ढ, थ, ध, फ, भ, स, ह महाप्राण वर्ण हुन्।



  • भाषाको सबैभन्दा सानो अर्थ भेदक एकाइ वर्ण हो।
  • वर्णलाई उच्चार्य गरिने वर्णलाई कथ्य वर्ण र लेखिने वर्णलाई लेख्य वर्ण भनिन्छ।
  • फोक्सोबाट निस्किने श्वासमा कुनै वाधा नपरीकन उच्चारण हुने वर्णलाई स्वर वर्ण भनिन्छ।
  • फोक्सोबाट निस्किने श्वासमा वाधा उच्चारण हुने वर्णलाई  व्यञ्जन वर्ण भनिन्छ।
  • लेख्य नेपाली  व्यञ्जन वर्ण ३६ ओटा छन् भने उच्चार्य नेपाली व्यञ्जन वर्ण २९ ओटा छन्।
.

Very Short Questions

0%

ASK ANY QUESTION ON नेपाली वर्ण (कथ्य र लेख्य) को पहिचान

No discussion on this note yet. Be first to comment on this note