Notes on काल | Grade 10 > Nepali > जयपृथ्वीबहादुर सिंह | KULLABS.COM

काल

  • Note
  • Things to remember
  • Exercise

 

काल

क्रियापदले वर्णन गरेको काम वा अवस्थाको समयलाई काल भनिन्छ | कुनै कार्य गर्दा सुरु भएको. त्यसभन्दा अगाडि भइसकेको र त्यसभन्दा पछाडि सुरु हुने आधारमा काललाई छुट्याउने प्रचलन छ | क्रियापदमा धातुका पछाडि जोडिएका प्रत्ययहरूले नै कालको चिनारी दिन्छन् |

जस्तै :-

केटो कविता लेख्छ | (लेख्छ = लेख् + छ)       वर्तमान (अहिले)

केटाले कविता लेख्यो | (लेख्यो = लेख् + यो)     भूत   (पहिले)

केटो कविता लेख्नेछ | (लेख्नेछ = लेख् + नेछ)   भविष्यत् (पछि)

 

   भूत काल               वर्तमान काल           भविष्यत् काल

गयो, भन्दै थिएँ,     गर्छ, भन्दै छु,          गर्नेछ, भन्दै हुनेछु,

गएका थिए,           गएका छन्              गएका हुनेछन्

जान्थ्यो, गएछ

भूतकाल 

बितिसकेको समयमा काम हुने, हुँदै गरेको, भइसकेको, हुने बानी परेको र भइसकेको कुरा पछि थाहा भएको बुझाउने क्रियापदको समयलाई भूतकाल भनिन्छ | अथवा विगतमा भइसकेको वा बितिसकेको कुनै घटना वा कार्यको निर्देशन गर्ने क्रियापदलाई भूतकाल भनिन्छ | यसले बितेको समयको काम वा अवस्थालाई बुझाउछ | भूतकाललाई जनाउनका लागि क्रियापदका अन्त्यमा 'य्' प्रत्ययका रूपहरू 'एँ', 'यौं', 'ई', 'ए', 'इन्' 'इस्', 'यो', आदि रहेका हुन्छन् |   

 

भूतकालका पनि पाँच पक्ष छन् – जुन निम्न अनुसार छन् :

सामान्य भूत –

कुनै काम पहिले वा बितिसकेको समयमा भएको सामान्य अवस्था बुझाउने क्रियापदको पक्षलाई सामान्य भूत भनिन्छ | सामान्य भूत पक्ष जनाउनका लागि क्रियापदका धातुमा 'एँ', 'यौं', 'ई', 'ए', 'इस्', 'यौ', 'इन्' आदि रूपहरू जोडिन्छन् |

उदाहरण –

ममताले किताब पढी |

हामीले खाना खायौँ |

ऊ कुर्सीमा बस्यो |    

 अपूर्ण भूत –

कुनै काम बितेको समयमा हुँदै / भइसकेको थियो भन्ने अपूर्ण अवस्था जनाउने क्रियापदको पक्षलाई अपूर्ण भूत भनिन्छ | यस पक्षलाई जनाउनका लागि धातुमा 'तै/ दै थियौ', 'तै/ दै थियो', 'तै/ दै थिए' आदि जोडिएर क्रियापदहरू बनेका हुन्छन् |

उदाहरण –

म रुँदै थिएँ |

उनी/ तिनी रुँदै थिए/ थिइन् |

तपाईं रुँदै हुनुहुन्थ्यो |

 पूर्ण भूत -

कुनै काम बितेको समयमा पूरा भइसकेको र त्यसको असरसमेत बाँकी नरहेको अवस्थालाई जनाउने क्रियापदको पक्षलाई पूर्ण भूत भनिन्छ | यस पक्षलाई जनाउनका लागि धातुमा 'एको थिएँ', 'एका थियौँ', 'एको थिइस्', 'एका थियौ', 'एका थिए' आदि जोडिने गर्छन |

उदाहरण –

रमेशले कथा सुनेको थियो |

रमा घर गएकी थिइन् |

ऊ सुतेको थियो |

अभ्यस्त भूत -

कुनै काम बितेको समयमा बानी परेको वा नियमित रूपमा भएको भए पनि अहिले नभएको अवस्थालाई जनाउने क्रियापदको पक्षलाई अभ्यस्त भूत भनिन्छ | यस पक्षलाई जनाउनका लागि धातुमा 'थें', 'त्यों', 'थ्यौ', 'थिस्', 'थे', 'थी' आदि क्रियापदहरू बनेका हुन्छन् |

उदाहरण –

तँ चित्र बनाउथिस् |

तिमी नाटक लेख्थ्यौ |

आमा गीत लेख्नुहुन्थ्यो |

 अज्ञात भूत –

कुनै काम बितेको समयमा भइसकेको तर अहिले आएर मात्र थाहा पाइएको अवस्था जनाउने क्रियापदको पक्षलाई अज्ञात भूत भनिन्छ | धातुमा 'एछु', 'एछौँ', 'एछ्स्', 'एछौ', 'एछ' आदि जोडिएर अज्ञात भूत जनाउने क्रियापदरू बन्छन् |

उदाहरण –

म पढ्दापढ्दै निदाएछु |

हिजो राती पानी परेछ |

पारू निबन्ध प्रतियोगितामा प्रथम भइछन् |

 

 वर्तमानकाल 

कुनै पनि काम अहिलेको समयमा वा वर्तमान अवस्थामा हुने, हुँदै गरेको वा भइसकेर पनि प्रवाभ बाँकी रहेको बुझाउने क्रियापदको समयलाई वर्तमानकाल भनिन्छ |  वर्तमानकाल जनाउनका लागि क्रियापदहरूका अन्त्यमा 'छ' प्रत्ययका रूपहरू 'छु, छौँ, छस्, छौ, छ, छन्' आदि रहेका हुन्छन् |

जस्तै :-

बहिनी रुन्छे |

म विद्यालय जाँदै छु |

उनीहरू बसेका छन् |

 

वर्तमानकालका तीन पक्ष छन् :

 सामान्य वर्तमानकाल :

कुनै काम अहिलेको समयमा हुने सामान्य अवस्था जनाउने तर पूरा हुनु वा नहुनुका बारेमा केही नजनाउने क्रियापदको पक्षलाई सामान्य वर्तमानकाल भनिन्छ | यसलाई जनाउनका लागि धातुमा 'छु, छौँ, छस्, छौ, छ, छन्' आदि प्रत्ययहरू जोडिन्छन् |

उदाहरण –

म भात खान्छु |

गोपी स्कूल जान्छ |

भाइ किताब पढ्छ |

अपूर्ण वर्तमानकाल :

कुनै काम अहिलेको समयमा हुँदै गरेको वा भइरहेको छ भन्ने अपूर्ण अवस्था जनाउने क्रियापदको पक्षलाई अपूर्ण वर्तमानकाल भनिन्छ | अपूर्ण वर्तमान पक्ष जनाउनका लागि धातुमा 'तै/दै छु, 'तै/दै छौँ, 'तै/दै छस्', 'तै/दै छौ', 'तै/दै छ', 'तै/दै छन्' आदि प्रत्ययहरू जोडिन्छन् |

उदाहरण –

म घर जाँदै छु |

राजु खेल्दै छ |

बुबा हाँस्दै हुनुहुन्छ |

साथीहरू पढ्दै छन् |

 पूर्ण वर्तमानकाल :

कुनै काम अहिलेको समयमा पूरा भएको तर त्यसको प्रभाव भने बाँकी रहेको अवस्थालाई जनाउने क्रियापदको पक्षलाई पूर्ण वर्तमानकाल भनिन्छ | यसलाई जनाउने क्रियापदको धातुमा एको छु', 'एको छ', 'एका छौँ', 'एको छस्', 'एका छौ' आदि जोडिएका हुन्छन् |

उदाहरण –

म हिँडेको छु |

तँ रोएकी छेस् |

मनिषाले पढेकी छे |

 भविष्यत् काल :

पछिको वा आउने समयमा काम हुने कुरा बुझाउने क्रियापदको समयलाई भविष्यत् काल भनिन्छ | भविष्यत् काल जनाउनका लागि क्रियापदको अन्त्यमा 'नेछ' प्रत्ययका रूपहरू 'नेछु', 'नेछौँ', 'नेछस्' आदि जोडिएका हुन्छन् |

 

भविष्यत् कालका तीन पक्ष छन् :

 सामान्य भविष्यत् काल :

कुनै काम पछि वा आउने समयमा हुने सामान्य अवस्था जनाउने क्रियापदको पक्षलाई सामान्य भविष्यत् काल भनिन्छ | यसलाई जनाउनका लागि धातुमा 'नेछु', 'नेछौँ', 'नेछस्' 'नेछौ', 'नेछन्' आदि रूपहरू जोडिन्छन् |

उदाहरण –

हामी बजार जनेछौँ |

उनी उपन्यास पढ्नेछन्

राम पोखरा जानेछ |

अपूर्ण भविष्यत् काल :

कुनै काम पछि वा आउने समयमा भइरहने अवस्था जनाउने क्रियापदको पक्षलाई अपूर्ण भविष्यत् काल भनिन्छ | अपूर्ण भविष्यत् जनाउनका लागि धातुमा 'तै/दै हुनेछ', 'तै/दै हुनेछु' 'तै/दै हुनेछौँ' आदि रूपहरू जोडिएर क्रियापदरू बनेका हुन्छन् | उदाहरण -

म जाँच लेख्दै हुनेछु |

तँ लुगा सुकाउँदै हुनेछस् |

उनीहरू फुटबल खेल्दै हुनेछन् |

पूर्ण भविष्यत् काल :

कुनै काम पछि वा आउने समयमा पूरा हुने अवस्था जनाउने क्रियापदको पक्षलाई पूर्ण भविष्यत् काल भनिन्छ | पूर्ण भविष्यत् जनाउनका लागि धातुमा 'एको हुनेछ', 'एका हुनेछौँ', 'एको हुनेछस्', 'एका हुनेछन्' आदि रूपहरू जोडिएर क्रियापदरू बनेका हुन्छन् |

उदाहरण –

मिनाले लेख लेखेकी हुनेछे |

गमलामा फूलहरू फुलेका हुनेछन् |

हामी काठमाडौं गएका हुनेछौँ |



  • क्रियापदले वर्णन गरेको काम वा अवस्थाको समयलाई काल भनिन्छ |
  • भूतकाल :- विगतमा भइसकेको वा बितिसकेको कुनै घटना वा कार्यको निर्देशन गर्ने क्रियापदलाई भूतकाल भनिन्छ |
  • वर्तमानकाल :- कुनै पनि काम अहिलेको समयमा वा वर्तमान अवस्थामा हुने, हुँदै गरेको वा भइसकेर पनि प्रवाभ बाँकी रहेको बुझाउने क्रियापदको समयलाई वर्तमानकाल भनिन्छ | वर्तमानकाल जनाउनका लागि क्रियापदहरूका अन्त्यमा 'छ' प्रत्ययका रूपहरू 'छु, छौँ, छस्, छौ, छ, छन्' आदि रहेका हुन्छन् |
  • पछिको वा आउने समयमा काम हुने कुरा बुझाउने क्रियापदको समयलाई भविष्यत् काल भनिन्छ | 

 

 

 

 

 

 

 

.

Very Short Questions

म कक्षा दसमा पढ्दै छु | हाम्रो कक्षा विद्यालय भवनको माथिल्लो तलामा भएकाले सबैभन्दा सफा, सुन्दर पढाइमैत्री बनाउँदै छौँ | किनभने हामी कक्षाकोठालाई विभिन्न शैक्षिक सामग्रीहरूको उचित ढंगले प्रयोग गरी सजाउँदै छौँ | माथिल्लो तलामा कक्षाकोठा भएर पनि होला हामी त्यहाँबाट वरिपरिका मनमोहक दृश्यहरू हेर्दै रमाउँदै छौं | हाम्रो कक्षामा पढाउँन आउने गुरु तथा गुरूमाहरू पनि निकै खुशी भएर पढाउँदै हुनुहुन्छ | त्यसैले हामी विद्यार्थीहरू पनि अनुशासित भएर उहाँहरूलाई पठनपाठनमा सहयोग गर्दैछौँ | हामी कक्षाको वातावरणमा रमाउँदै कहिले पढ्दै त कहले खेल्दै, कहिले गफगाफ गर्दै त् कहिले अतिरिक्त क्रियाकलाप पनि गर्दै पढाइलाई निरन्तरता दिँदै छौँ | हामीलाई शिक्षकहरूले पढाइका क्रममा कक्षामा भएका आफ्ना विषयसँग सम्बन्धित शैक्षिक सामग्रीको भरपुर प्रयोग गर्दै पढाउँदै हुनुहुन्छ |

  त्यसैले त होला हाम्रो कक्षा विद्यालय भरिको सफा, सुन्दर, तथा बालबालिका मैत्री कक्षाकोठा भएकाले अन्य कक्षामा पनि हाम्रै कक्षाको उदाहरण दिँदै पठनपाठन गर्दैछन् |

काल

                      पक्ष

सामान्य

अपूर्ण

पूर्ण

अज्ञात

अभ्यस्त

वर्तमान

गरिमा गजल  लेख्छे |

गरिमा गजल लेख्दै छे |

गरिमाले गजल लेखेकी छे |

 

 

 

 

 

भविष्यत्

गरिमा गजल लेख्ने छे |

गरिमा गजल लेख्दै हुने छे |

गरिमाले गजल लेखेकी हुने छे  |

भूत

गरिमाले गजल लेखी |

गरिमा गजल लेख्दै थिई |

गरिमाले गजल लेखेकी थिई |

गरिमाले गजल लेखिछे |

गरिमा गजल लेख्थी |

 

 

0%

ASK ANY QUESTION ON काल

No discussion on this note yet. Be first to comment on this note