Notes on जय भोलि | Grade 10 > Nepali > जय भोलि | KULLABS.COM

जय भोलि

  • Note
  • Things to remember
  • Exercise

 

  भैरव अर्याल (वि. सं. १९९३ - वि. सं. २०३३)

       भैरव अर्यालको जन्म वि. सं. १९९३ असोज ५ गते ललितपुरको कोपुण्डोलमा भएको हो। उनकी माता खेमकुमारी अर्याल र पिता होमनाथ अर्याल हुन् । उनी नेपाली साहित्यका एक प्रखर तथा प्रसिद्ध हास्यव्यङ्ग्यकार हुन्। उनका पद्य्हरू पनि लेखे तर विशेष गरेर हास्यव्यङ्ग्य निबन्ध रचनामा नै उनी निकै चर्चित छन् । नेपालीमा एम्. ए., साहित्यरत्न र संस्कृतमा मध्यमा गरेका अर्यालले पत्रकारिता र विभिन्न पत्रपत्रिकामा सम्पादकको रूपमा पनि कार्य गरे | निधन - वि. सं. २०३३, आश्विन, गोकर्ण काठमाडौ | उनले सर्वप्रथम वि. सं. २००९ सालमा 'नयाँ जीवन’ शीर्षक कविता रचेर लेखनयात्रा सुरु गरेका हुन् भने पहिलो रचनाका रूपमा वि. सं. २०१३ मा 'नव निर्माण'  शीर्षकको कविता प्रकाशित भएको थियो। उनले हाँस्यव्यङ्ग्य, काव्य आदिमा कलम चलाए ।

       कृतिहरू 

  • उपवन(कवितासंग्रह, वि. सं. २०१८)
  • काउकुती(हास्यव्यङ्ग्य निबन्धसंग्रह, वि. सं. २०१९)
  • गलबन्दी(हास्यव्यङ्ग्य निबन्धसंग्रह, वि. सं. २०२६)
  • जयभुँडी (हास्यव्यङ्ग्य निबन्धसंग्रह, वि. सं. २०२२)
  • इतिश्री (हास्यव्यङ्ग्य निबन्धसंग्रह, वि. सं. २०२८)
  • दश औतार(हास्यव्यङ्ग्य निबन्धसंग्रह, वि. सं. २०३३)
  • टेडो ऐना(निबन्ध र कथा, वि. सं. २०६३)
  • अन्य विभिन्न पत्र-पत्रिकाहरुमा कविता, लेख समालोचना, हास्य व्यंग्यात्मक रचनाहरु प्रकाशित आदि |

 

भैरव अर्याल केही चर्चित निबन्धहरू 

  • जय भुँडी
  • चुरोट: केही झिलिमिली संस्मरण
  • लाहुरेको यात्रा-संस्मरण
  • भान्सा भो हजुर?
  • विकृति प्रतियोगिताको आयोजक समिति
  • नाम फेर्ने धुनमा
  • ‘उडाउनु’ सित एकछिन उड्दा
  • मपाईं आदि |

निबन्धको सारंश 

   निबन्ध 'जय भोलि !' मा निबन्धकारले हाम्रो नेपाली समाजमा व्याप्त भोलोवादी प्रबृद्धिलाई निकै नै कलात्मक ढंगले व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गरेका छन् | अर्यालका अरू निबन्धमा झैँ यसमा पनि हामी मानिसको विभिन्न प्रकारका खराब बनिहरूको भन्डाफोर गरिएको छ | निबन्धकार हकाहकिरूप यसो भन्छन् : "साँच्चै नै यो प्रख्यात भोलिवाद कति असामाजिक छ त ?" निबन्धकार अझ थप्छन् यहाँ प्रत्येक क्षेत्रमा प्रत्येक मान्छे यही भोलिभोलिबाट साताइएको हुनाले नेपालीमा भोलिवाद भन्ने नयाँ शब्द नै निर्माण भइसकेको छ | साँच्चै नै भोलिवाद के हो ? निबन्धकार अर्याल व्यङ्ग्य गर्दै भन्छन् "भोलिवाद हाम्रो संस्कृति हो, दर्शन हो, राजनीति हो, प्रशासन हो, सामाजिक व्यवहार हो |" हाम्रो समाजमा भोलि भन्नासाथ आजको भोलिपल्टको दिन या आउने दिन भन्ने बुझिन्छ र मानिस आज पूरा गर्न नसकेको सम्पूर्ण कार्यलाई भोलि पूरा गर्ने सुनौलो परिकल्पनाका साथ निदाउँछ तर उज्यालो हुँदा उसको  भोलि आजमा परिणत भइसकेको हुन्छ | आजको काम भोलिका लागि राख्नु नेपालीको परम्परा हो, एक सभ्यता हो र एक संस्कृति पनि हो | यसरी नेपाली समाजमा भोलिवाद मलजलका साथ जरो गाडेर फस्टाउँदैछ र बढ्दैछ | हाम्रो समाजमा हुँदा हुँदै यो भोलिवाद यसरी विकसित भइसकेको छ कि सामाजिक क्षेत्रमा होस् या शिक्षा क्षेत्रमा होस्, राजनीतिक क्षेत्रमा होस् या प्रशासनिक क्षेत्रमा, जुनसुकै क्षेत्रमा गएपनि भोलिवादको विकास भएको पाइन्छ | अड्डा अदालतदेखि लिएर सिंहदरबारसम्म भोलिवादले गहिरो रूपमा जरा गाडिसकेको पाइन्छ | मानिसले भोलिको लागि थाती नराख्ने काम एउटै छ, त्यो हो खाने काम, अरू सबै काममा भोलिवाद लागेकै हुन्छ |

 

 



  • भैरव अर्यालको जन्म वि. सं. १९९३ असोज ५ मा भएको हो।
  • उनी नेपाली साहित्यका एक प्रखर तथा प्रसिद्ध हास्यव्यङ्ग्यकार हुन्।
  •   निबन्ध 'जय भोलि !' मा निबन्धकारले हाम्रो नेपाली समाजमा व्याप्त भोलोवादी प्रबृद्धिलाई व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गरेका छन् |
  • भोलिवाद हाम्रो संस्कृति हो, दर्शन हो, राजनीति हो, प्रशासन हो, सामाजिक व्यवहार हो |
.

Very Short Questions

'जय भोलि !' निबन्धमा भोलि भनी समयको ख्यालै नगर्ने हामी नेपालीहरूको राष्ट्रिय संस्कारप्रति गहिरो व्यङ्ग्य प्रहार गरिएको छ | यस निबन्धमा समय प्रवल, गतिशील र महत्वपूर्ण हुन्छ | यसलाई सही रूपमा प्रयोग गर्नुपर्छ भन्ने आशय लुकेको छ | समय मानिस भन्दा प्रवल भएकोले यसलाई मानिसले न फर्काउन नै सक्छ न रोक्न नै सक्छ | फेरी समय गतिशील भएकोले यसले मानिसहरूलाई पर्खेर बस्न पनि सक्दैन | समय सधैँ आफ्नो गतिमा हिंडिरहेको हुन्छ | यो मूल्यवान र महत्वपूर्ण भएकोले यसलाई खेर जान दिनु हुँदैन, यदि खेर गइहल्यो भने जति नै मूल्य तिर्दा पनि उसलाई प्राप्त गर्न सकिदैन |

विश्वका अन्य ठाउँमा जेसुकै भइराखे पनि हाम्रो समाजमा चाहिँ भोलैवादी प्रवृतिको राम्रो विकास भएको कुरा निबन्धकार अर्यालले देखाएका छन् | हाम्रो समाजमा व्यक्तिगत, पारिवारिक, सामाजिक, राष्ट्रिय, सामान्य तथा अति गम्भीर कार्यका लागि पनि 'भोली' शब्दको प्रयोग हुने गरेको यथार्थ चित्रण निबन्धकार अर्यालले यस निबन्धमा गरेका छन् | यसरी जुनसुकै काममा पनि भोलि भन्ने हाम्रो बानीले अरूलाई भन्दा आफैँलाई हानि भइराखेको हुन्छ | हाम्रा सम्पूर्ण योजना र कार्यक्रमहरू ढिलासुस्तिमा परिवर्तन भइरहेका छन् | यसरी हामीले आफ्नो राष्ट्रलाई विकासवादी मार्गमा धकेलिरहेका छौं | त्यसैले निबन्धकारले हामी लगायत सूर्य, चन्द्र, पृथ्वी, हावा सबैले आजको काम भोलि गर्ने भए भने यहाँ ठूलो हलचल मच्चिने धारणा प्रस्तुत गरेका छन् अथवा भोलिवाद ठीक छैन भन्ने धारणा निबन्धकारको व्यक्त गरेका छन् |

मान्छेको मनोवृतिमा भोलिवादको प्रभाव पर्नाका कारण सम्पूर्ण वातावरण नै भोलिवाद हुनु हो | प्रसिद्ध हास्यव्यङ्ग्यकार भैरव अर्यालले यस निबन्धमा भोलिवाद्लाई 'पूर्वीय दर्शनको सबैभन्दा ठूलो विशेषता हो' भनेका छन् | भोलिवादको जन्म कहिले भयो भन्ने सम्बन्धमा यकिन गर्न नसके पनि यसले भानुभक्तको समय पूर्व बनै नेपाली समाजमा मौलाएको कुरालाई लेखकले निबन्धमा उल्लेख गरेका छन् | यसरी विकसित बनेको भोलिवादले विरामी र आगलागी जस्ता संवेदनशील विषयमा पनि प्रभाव जमाएको छ, सरकारी निकायहरू भोलिवादी कुसंस्कृतिले व्याप्त छन् | मानवजीवनसँग सरोकार राख्ने संस्था, अस्पताल, टेलिफोन, एम्बुलेन्सजस्ता विषय र वस्तुहरूलाई यसले ग्रसित पारेको छ | घर परिवारदेखि राष्ट्रसम्म हरेक विषय र क्षेत्रमा भोलिवादले जरा गाडिसकेको सिङ्गो सामाजिक वातावरण नै भोलिवादी बन्न पुग्यो | यसरी हरेक विषय क्षेत्रमा जताततै भोलिवाद हावी हुनु नै मान्छेको मनोवृतिमा भोलिवादको प्रभाव पर्नाको प्रमुख कारकतत्व मान्न सकिन्छ |      

प्रस्तुत निबन्धले प्राचीनकालदेखि नै नेपाली समाजमा स्थापित र विकसित भएका भोलिवादका बेफाइदाहरू देखाउन काम छन् | भोलिवादले हाम्रो समाजलाई यति धरै ग्रसित पारेको छ कि यसबाट मुक्ति पाउन धरै नै कठिन छ | आजसम्म विद्यमान रहेको यो भोलिवादले प्राचीनकाल देखि नै व्यक्ति, परिवार, सामज र सिङ्गो राष्ट्रलाई नै पछाडि ठेलिरहेको छ | यसले विरामीको उपचारमा,आगलागीका घटनामा, व्यक्तिगत लेनदेनमा, समनाहरूको किनबेचमा, सरसफाइमा, देशको विकासका कार्यमा जताततै भोलि भन्ने गर्नाले हाम्रा सारा योजनाहरू परपर सर्दै गएका छन् | कुनै कार्य पनि समयमा पूरा हुन नसकेकोले हामी अरूका तुलनामा पछि परेका छौं | यसमा सुधार गर्नका लागि हामी सबैले उक्त बानीमा सुधार गरी ठीक – ठीक समयमा आफ्ना कार्य पूरा गर्नुपर्दछ भन्दै हामीमा रहेको मनोवृत्तिले सामाजिक विकृतिको रूपधारण गरेको विषयतर्फ प्रमुख रूपमा यस निबन्धले व्यङ्ग्य गरेको छ |

0%

ASK ANY QUESTION ON जय भोलि

No discussion on this note yet. Be first to comment on this note