नाम

Subject: नेपाली

Find Your Query

Overview

नाम

नाम

कुनै पनि व्यक्ति, स्थान वा प्राणी एवं मूर्त वा अमूर्त वस्तुलाई द्योतन गर्ने तथा वाक्यस्तरमा कर्ता, कर्म वा पूरक भई आउने पदहरू नै नामपद हुन्; जस्तै - राम, पोखरा, गाई, फलाम, हुल, ज्ञान आदि। यीमध्ये "राम" ले व्यक्ति, पोखरा ले ठाउँ, गाई ले जाति, फलाम ले द्रव्य, हुल ले समूह र ज्ञान ले भाव बुझाएका छन्। यसरी कुनै पनि व्यक्ति, ठाउँ, जाति, वस्तु,समूह, अमूर्त भाव आदि बुझाउने पदलाई नाम भनिन्छ।

नामलाई अर्को शब्दमा संज्ञा पनि भनिन्छ। नाम विकारी पदवर्गभित्र पर्दछ र लिङ्ग, वचन, आदर अनि कारकका आधारमा यसका रूप चल्दछन्; जस्तै-

केटो, केटा, केटी, केटाहरू, केटाले, केटाको ...........।

सबै नामको रूप नचल्न पनि सक्छ।

कुनै पनि मूर्त वा अमूर्त, सजीव वा निर्जीव वस्तुलाई चिनाउनु नै नामको विशेषता वा पहिचान हो।

नामका प्रकार

परम्परागत व्याकरणअनुसार नाम ५ प्रकारका छन्:

व्यक्तिवाचक नाम

जातिवाचक नाम

द्रव्यवाचक नाम

समूहवाचक नाम

भाववाचक नाम

व्यक्तिवाचक नाम

कुनै एक व्यक्तिविशेष, स्थानविषेश, वस्तुविशेष वा अवधारणाविशेषलाई चिनाउने नामिक पदलाई व्यक्तिवाचक नामअन्तर्गत राखिन्छ:

व्यक्तिविशेष: - राम, सीता, रमा, लक्ष्मीप्रसाद, निलिमा........।

स्थानविशेष: - पोखरा, काठमाडौँ, नेपाल, टोकियो, हङकङ .........।

नदीविशेष: - गण्डकी, कोसी, कर्णाली, राप्ती, भेरी........।

पर्वतविशेष: - सगरमाथा, धवलागिरी, कञ्चनजङ्घा........।

चाडविशेष: - तिज, दसैं, तिहार, शिवरात्रि, क्रिस्मस........।

विशिष्टता र अद्वितीयता (त्योबाहेक अर्को नभएको) व्यक्तिवाचक नाममा विशेषता एवं पहिचान हुन्।

जातिवाचक नाम

कुनै पनि सामान धर्म वा गुण जनाउने नामिक पदलाई जातिवाचक वा सामान्य नाम भनिन्छ। यो सजीव र निर्जीव गरी दुई प्रकारको हुन्छ-

सजीव (जीव हुने): - बाहुन, क्षत्री, मानिस, राजा, नेता, कवि, गुरु, विद्यार्थी, चरा, गाई, कुकुर, बाख्रो, सर्प, रूख, फूल........।

निर्जीव (जीव नहुने): - किताब, कलम, गाउँ, सहर, देश, घर, पहाड, नदी, घडी, छाता, भाषा, तारा, ग्रह, चाड, पर्व, खोला, तलाउ........।

सामान्यता र समानता जातिवाचक नामका पहिचान नामका पहिचान एवं विशेषता हुन्।

द्रव्यवाचक नाम

कुनै पनि परिमेय पदार्थ बुझाउने पदलाई द्रव्यवाचक वा पदार्थवाचक नाम भनिन्छ। यो निम्न प्रकारको हुन्छ-

ठोसबोधक (ठोस पदार्थ बुझाउने): - सुन, ढुङ्गो, माटो, फलाम, काठ, चामल, दाल, नुन, मकै, असिना.....।

तरलबोधक (तरल पदार्थ बुझाउने): - पानी, दूध, तेल, रक्सी, चिया, मसी, पेट्रोल........।

ग्यासबोधक (ग्यास पदार्थ नाम): - हावा, अक्सिजन, बाफ, कुहिरो, बादल, कार्बन्डाइअक्साइड, धुवाँ......।

बढी प्राकृतिकता यसको विशेषता र पहिचान हो।

समुहवाचक नाम

कुनै पनि मानिस, प्राणी वा वस्तुहरुको समूह बुझाउने पदलाई समुहवाचक नाम भनिन्छ। यो निम्न प्रकारको हुन्छ-

मानिसलाई बुझाउने: - हुल, भिड, लोक, समाज, जनता, जन्ती, सेना, दल, परिवार, समिती, सभा, जुलुस, वर्ग......।

पशुपक्षीलाई बुझाउने: - बथान, ताँती, लस्कर, बगाल.....।

वस्तुलाई बुझाउने: - झुप्पो, बिटो, मुठो, रास, थुप्रो, दर्जन.....।

सामुहिकता समुहवाचक नामको विशेषता वा पहिचान हो।

भाववाचक नाम

अदृश्य वा अमूर्त वस्तु एवं मानसिक धारणा, अनुभूति तथा वस्तुको गुण, कार्य वा अवस्था बुझाउने पदलाई भाव वाचक नाम भनिन्छ। यसलाई पनि निम्न भागमा बाँडेर हेर्न सकिन्छ-

गुण बुझाउने: - पाप, धर्म, रिस, दया, माया, घृणा, सुख, दु:ख, धैर्य, कर्तव्य, प्रेम, बुद्वि, ज्ञान, शिक्षा, शान्ति, कोलाहल, भाग्य, न्याय, विश्वास, शोक, इच्छा, सुन्दरता, वीरता.....।

काम बुझाउने: - नोकरी,इमान्दारी, चोरी, दौड, हिँडाइ, पढाइ, जान्नु, डुल्नु, अनुरोध, घटना, हिंसा, नेतृत्व......।

अवस्था बुझाउने: - अमिरी, गरिबी, जवानी, बुढ्याइँ, केटाकेटीपन.....।

भावनात्मक एवं अमूर्तता यस नामका विशेषता वा पहिचान हुन्।

यदि विशेषण पदले नाम पदको रूपमा आई कार्य गरेमा ती विशेषणिक नाम हुन्छन्; जस्तै-

धनीले गरिबलाई हेप्छन्।

नेपालीहरू गहुँगोरा हुन्छन्।

उपर्युक्त वाक्यमा धनी, गरिब र नेपाली विशेषण पदले सामान्य नामको रूपमा आई कार्य गरेकाले यी विशेषणिक नाम हुन्। यी वाक्यस्तरमा मात्र देखिन्छन्।

नामका अन्य प्रकारहरू

उपर्युक्त पाँच प्रकारको वर्गीकरणका अतिरिक्त नामलाई सङ्खेय-असङ्खेय, सजीव-निर्जीव, मानवेतरजस्ता भेदमा पनि वर्गीकरण गरिन्छ।

सङ्खेय र असङ्खेय नाम

कुनै नाम गन्न सकिने हुन्छन् भने कुनै गन्न नसकिने हुन्छन्। यसका आधारमा नामलाई दुई भागमा वर्गीकरण गरिन्छ।

सङ्खेय- सङ्ख्या तोक्न सकिने वा गन्न सकिने नामहरूसङ्खेय हुन्। यी गणनीय हुन्छन् र यिनका एकवचन र बहुवचनका भिन्न रूपहरू पनि हुन्छन्। जस्तै: हरि, सीता, गीता, कलम, मान्छे, गाई, घर, टोपी, बाटो, परेवा, कुकुर, कथा आदि।

असङ्खेय- सङ्ख्या तोक्न वा गन्न नसकिने नामहरू असङ्खेय हुन्। यिनलाई अगणनीय पनि भनिन्छ। जस्तै: पानी, चामल, सुन, घिउ, सुख, गरिबी, पढाइ, मानवता आदि।

सजीव र निर्जीव नाम

कुनै नामले चेतना भएका प्राणीलाई बुझाउँछन्। यसका आधारमा नाम दुई प्रकारका हुन्छन्।

सजीव-चेतना भएका वा जीवित प्राणीहरूलाई बुझाउने नामहरू सजीव हुन्। जस्तै: मान्छे, कुकुर, गाई, मामा, आमा, भाइ, छेपारो, बाघ, भालु आदि।

निर्जीव -चेतना नभएका वा प्राणरहित वस्तुहरूलाई बुझाउने नामहरू निर्जीव हुन्। जस्तै: पहाड, किताब, नदी, खाता, माटो, मेची, सुन, हावा, पानी आदि।

मानवीय र अमानवीय

कुनै नामले मानवजातिलाई बुझाउँछ्न्भने कुनैले मानवभिन्न अरू प्राणीवर्गलाई बुझाउँछ्न्। यसका आधारमा नाम दुई प्रकारका हुन्छन्।

मानवीय - मानवजातिलाई सङ्केत गर्ने नामहरू मानवीय हुन्। जस्तै: आमा, बुबा, दाजु, कवि, मित्र, काका, काकी, मामा, माईजु आदि।

अमानवीय - मानवबाहेक अन्य पशु, पन्छी वा प्राणीवर्गलाई बुझाउने नामहरू अमानवीय हुन्। जस्तै: गाई, परेवा, कुकुर, बिरालो, हाँस, माछो, कछुवा, मुसा, सर्प, सुगा आदि।

Things to remember
  • It includes every relationship which established among the people.
  • There can be more than one community in a society. Community smaller than society.
  • It is a network of social relationships which cannot see or touched.
  • common interests and common objectives are not necessary for society.

© 2019-20 Kullabs. All Rights Reserved.