Subject: Nepali
गुरूप्रसाद मैनानीको जन्म काशीनाथ मैनानी र काशीरूपादेवी मैनानीका पुत्रको रूपमावि.सं. १९५७ सालमा धनकुटामा (घर काभ्रेपलान्चोक भए पनि उनका बाबु जागीरका सिलसिलामा धनकुटा गएका बाले उनी त्यही जन्मेका हुन्) भएको हो । गुरूप्रसादले धेरै पढ्न सकेनन् । बाबुको जागीर सरुवा हुँदा बाबुसँगसँगै जानुपर्ने भएकाले उनको बसाइ एकै ठाउँमा हुन सकेन । त्यसैले पहिले घरमै उनले अक्षर चिने, त्यसपछि 'लघुकौमुदी', 'अमरकोश', 'रुद्री', 'दुर्गासप्तशती' आदि पढे । अनि स्रेस्ता पाठशालामा पढे । त्यस बेला नेपालमा धेरै विद्यालय थिएनन्।
गुरूप्रसाद मैनाली एक प्रसिद्ध सामाजिक यथार्थवादी कथाकार हुन् | उनले पहिलो पटक लेखेको कथा 'नासो' हो । त्यो कथा सर्वप्रथम १९९२ सालमा 'शारदा' भन्ने साहित्यिक प्रत्रिकामा छापियो । त्यो कथा अत्यन्त प्रसिद्ध भयो । सबैतिरबाट उनलाई 'फेरि यस्तै कथा लेख्नुपर्छ' भन्न थालियो । त्यसभन्दा पहिले सामान्य घरपरिवारका सामान्य घटनालाई कथा बनाएर लेख्ने चलन नै थिएन । 'नासो' कथा छापिएपछि नयाँ चलन चल्यो र त्यो नयाँ चलन चलाउने व्यक्ति कथाकार गुरूप्रसाद मैनाली भए । 'नासो' कथालाई सबैले अत्यन्त राम्रो मानेपछि गुरूप्रसाद मैनालीले अरू कथाहरू पनि लेखे। 'परालको आगो', 'बिदा', 'शहीद' आदि शीर्षकका उनका कथाहरू पनि धेरै चर्चित भए । वि.सं. २०२० सालमा प्रसिद्ध समालोचक डा. तारानाथ शर्माले मैनालीका ११ वटा फुटकर कथा जम्मा पारे, अनि आफू सम्पादक बनेर 'नासो' नामको कथासङ्ग्रह निकाले । जागीर छोडेपछि मैनाली काठमाडौँमा बसोबास गर्न थाले । उनी काठमाडौँमा नै भएको समयमा वि.सं. २०२८ साल जेठ २५ गते उनको निधन भयो । गुरूप्रसाद मैनालीले कथाबाहेक हास्यव्यङ्ग्यविधामा केही लेख तथा फुटकर निबन्ध पनि प्रकाशित गराएका थिए । नेपाली भाषाका एक प्रसिद्ध साहित्यकार मैनाली सबैले मन पराउने र बुझ्ने खालका कथा थोरै लेखे पनि प्रसिद्ध हुन सकिन्छ भन्ने शिक्षा कथाकार गुरूप्रसाद मैनानीबाट पाउन सकिन्छ |
समाजमा घट्ने यथार्थ घटनाहरुलाई आधारमा राखी उनी कथाहरू लेख्छन् | त्यसको एउटा उदाहरण हो कर्तव्य कथा | समस्याग्रस्त नेपाली समाजलाई नजिकैबाट नियालेका उनले मानिसको जीवनका दु:ख र पीडालाई आफ्ना कथाहरुमा झल्काएको हुनाले उनलाई सामाजिक यथार्थवादी कथाकार मानिन्छ | साथै आदर्शमा विश्वास भएकोले उनका कथाको एक पात्रलाई आदर्शवादी बनाएर मानिसलाई उच्च महिमायुक्त जीवनयापन निम्ति अग्रसर हुन प्रेरित गरेका छन् |
कर्तव्य एक समाजिक कथा हो | यस कथाले एक आदर्श बाबुका भिन्न प्रकारका चरित्र भएका दुई दाजुभाई बीचको कलहलाई चित्रण गरिएको छ | दाजुभाई बीचमा सानोतिनो कुराले मनमुटाब भयो भन्दैमा आफ्नो कर्तव्य र जिम्मेवारीबाट पर सर्नु हुदैन, आफुले राम्रो गरेपछि अर्काले पनि आफुलाई सकारात्मक दृष्टिले हेर्छ अथवा उसमा पनि सकारात्मक परिर्वतन आउन सक्छ भन्ने सन्देश प्रवाह गरेको छ | यसका साथै सम्पति भन्दा मानवीय सम्बन्ध ठूलो कुरा भएकोले यसलाई जोगाउन समाजका प्रत्येक सदस्यले सकारात्मक सोच र त्याग गर्न सक्नुपर्छ भन्ने विषयलाई कथामा प्रस्तुत गरिएको छ |
गङ्गाधरको चरित्र चित्रण गर्नुहोस् |
गङ्गाधर गाउँका एक नामी समाजसेवी तथा महान् पुरुष थिए | उनी आफ्नो सारा सम्पतिलाई जनताको थाती (नासो) भन्ने गर्थे र आफूलाई त्यस सम्पतिको संचालक मात्र ठान्दथे | गाउँका गरिबको चुल्हो नबालेको र सुत्केरी भोकै परेको, खबर सुन्नासाथ उनीहरुलाई बोलाएर अन्न पैसा आदि सहयोग दिएर पठाउँथे, सबैका अन्नदाता थिए, कसैले तिर्ने भाखा सोधेमा 'सके तिर्नु नसके तिमीहरुकै हो' भन्ने जवाफ दिन्थे | गाउँमा कसैको विवाह, वर्तमन, चाडबाड, मरीमराऊ कुनै कार्य रोकिदैनथो | वरपर दस गाउँका मानिसमा कसैमाथि अन्याय हुदैनथ्यो | यदी अन्याय परेमा उनीकहाँ न्याय माग्न मानिसहरू भेला हुन्थे | गाउँका बालबालिका, युवा, वृद्धा सबैका प्रिय थिए | समग्रमा भन्दा गङ्गाधरको चरित्र, परोपकारी, सहनशील, मिजासिलो, इमान्दार, नैतिकवान, मानवीय भावले प्रेरित, सहयोगी ग्रामपिताका रूपमा थियो भन्न सकिन्छ |
मुरलीधर र श्रीधरका बीचमा केकस्ता चारित्रिक अन्तरहरू देखिन्छन् ?
मुखिया गङ्गाधरका दुई छोरामध्ये जेठा मुरलीधर पण्डित थिए | उनी सधैँ बिहान सबेरै नुहाउँथे र आधा दिन सम्म पूजापाठ गर्थे | उनी आफ्नो धर्मसंस्कृतिप्रति बढी नै श्रद्धा राख्दथे, अरूलाई सताउनु पाप ठान्थे , जिल्लामा पण्डित मुरलीधरका नामले प्रख्यात थिए, उनी परम्परागत किसिमका पहिरन मखमलको टोपी, च्यादर र ललाटमा चन्दन लगाएर हिंड्थे भने श्रीधर चाहिं राजनीतिक पार्टिका सदस्य र ग्राम विकासका प्रधान थिए | जुँगादारी खौरन्थे, धोक्रे सुरुवाल र कुर्था लगाउँथे, लामो बुलबुले कपाल पाल्थे, आधा अंग्रेजी, चौथाई संस्कृत, चौथाई नेपाली मिसाएर बोल्थे, पूजापाठमा गर्नु र टीकाचन्दन लगाउनु उनी दासत्व हो भन्थे | मुरलीधर र श्रीधरका बीचमा यस किसिमका चारित्रिक भिन्नता देखिन्छन् |
मुरलीधर र श्रीधरका बीच कुन विषयमा विवाद भयो र विवादको टुङ्गो कसरी लाग्यो ?
बाबुका नाममा रहेको जिउनी खेतका विषयमा मुरलीधर र श्रीधरका बीचमा विवाद भयो | विवादले निकै ठूलो रूप लिन पुग्यो | गाउँका मानिसहरू विवादका क्रममा दुई पक्षमा विभाजित भए | बूढापाकाहरू मुरलीधर पक्षमा लागे भने युवाहरू श्रीधरका पक्षमा लागे | विवादमा बूढापाकाहरूले धर्मका आधारमा निर्णय गरे भने युवाहरूले ऐनकानुनका आधारमा श्रीधरका पक्षमा फैसला गरे | यस विवादको निचोड गर्न मुरलीधरले ग्रामसभा विसर्जन भएको केही दिनपछि कानुनको सहारा लिँदै अदालतमा नासिल दिए | मुरलीधरको कानुनी आधार कमजोर भएकाले अदालतले लिखत प्रमाणका आधारमा श्रीधरका पक्षमा फैसला दियो र विवाद टुङ्गियो |
मुरलीधरले आफ्नो कर्तव्य कसरी निर्वाह गरे ?
बाबुले आफ्ना सन्तान प्रति, दाजुले आफ्नोभाइ प्रति, एक भाइले आफ्नो दाजु प्रति र एक सन्तानले आफ्नो वंश वा कुल प्रति आफ्नो कर्तव्य पूरा गर्नुपर्ने हुन्छ, त्यसैको अनुशरण गर्दै मुरलीधरले आफ्नो भाइसँग बोलचाल नभए पनि भतिजोको विवाहमा नबोलाइकन गएर बाबु हुनुको कर्तव्य पूरा गरेर आफ्नो वंशको इज्जत र प्रतिष्ठालाई समाजमा उच्च बनाएका छन् | यतिमात्र नभएर उनले आफ्नो भाइलाई उपचार गर्न देशतर्फ लगेर आफ्नो कर्तव्य निस्वार्थ भावले निर्वाह गरेका छन् |
कर्तव्य कथाको मूल आशय के हो ?
कर्तव्य' शीर्षक कथाले प्रत्येक परिवारमा परिवारको जेष्ठ सदस्यले अरू सदस्यहरू प्रति अभिभावकको भूमिकालाई कसरी पूरा गर्नुपर्दछ भन्ने संदेश दिएको छ | यस धर्तीमा जन्मिएर आएपछि मानिसको आफ्नो कूल वा वंशको पहिचान रहन्छ, आफ्नो परिवार हुन्छ | परिवारका सदस्यहरूबीच एकआपसमा सानातिना समस्याहरू पनि सिर्जना हुन्छन्, यस्ता समस्याहरूले सदस्यहरूबीच विवाद भई झगडामा परिणत हुने, बोलचाल बन्द हुने, आवतजावत बन्द हुने र विभिन्न प्रकारका मुद्दामामिला समेत हुन सक्दछ | यस प्रकारका समस्या भए पनि समाजमा बसेपछि समाजका अगाडि आफ्नो इज्जत प्रतिष्ठा परिवारका कुनै एक सदस्यबाट गुम्न लाग्यो भने आँखा चिम्लेर अथवा मुकदर्शक बनेर बस्नु हुदैन, यस्तो परिस्थितिमा प्रस्तुत कथाका केन्द्रीय पात्र मुरलीधरले झैँ हामीले पनि जेष्ठ सदस्यको नाताले आफ्नो कर्तव्य सधैँ निर्वाह गर्नुपर्छ भन्ने मूल आसय नै यस 'कर्तव्य' कथामा पाइन्छ |
यस कथाले के कस्तो भातृप्रेम देखेको छ ?
'कर्तव्य' कथाले दाजुभाइका बीचको भातृप्रेम कतिसम्म गाढा हुन्छ भन्ने कुरालाई प्रष्ट रूपमा देखाएको छ | एकाआपसमा जतिसुकै कटुता भएतापनि, ईर्ष्या र डाह भए पनि आवतजावत नै बन्द भएर पानी बराबरको अवस्था नै भए पनि अथवा अड्डा अदालतमा मुद्दममिला नै गरी शत्रुवत व्यवहार नै एकअर्कामा गरे पनि रगतको नाता कहिल्यै टुट्दैन | आन्तरिक गृहकलहले जतिसुकै उग्ररुप लिए पनि बाहिरी समाजका अगाडि वा जोरीपारी तथा छरछिमेकका अगाडि आफ्नो कूल तथा वंशको इज्जत प्रतिष्ठामा धक्का लाग्न दिनु हुँदैन | अप्ठेरो अवस्थामा एकले अर्कोलाई सहयोग गर्नैपर्छ, सानातिना कुरामा आपसी प्रेम वा रगतको नातालाई भौतिक सम्पतिका कारण बिर्सनु हुन्न, विगतका कमी कमजोरीलाई बिर्सिएर आपसी सहयोग, सदभाव तथा आत्मीय ममतालाई जीवान्त तुल्याउनेतर्फ अग्रसर हुनुपर्छ र दाजुभाइका बीचको रगतको नाता निकै नै गाढा हुन्छ भन्ने भातृप्रेमलाई यस कथा मार्फत उजागर गरिएको छ |
सप्रसङ्ग व्याख्या गर्नुहोस् :कुकुर अज्ञानी पशु हुनाले बोलाएपछि मात्र जान्छ, मानिस चाहिँ ज्ञानवान् हुनाले बखत मौका विचार गरेर आफैँ पनि जानुपर्छ |
उपरोक्त गद्यांश हाम्रो नेपाली पाठ्यपुस्तक कक्षा दशको 'कर्तव्य' शीर्षक कथाबाट झिकिएको हो | यस कथाका कथाकार गुरुप्रसाद मैनाली हुन् | कथाकार मैनाली (वि. सं. १९५७ – वि.सं.२०२८) हुन् | सामाजिक यथार्थलाई आदर्शको उद्देश्यसित जोडेर कथाका विषयवस्तु बनाई आफ्नो मौलिक पहिचान हो | आफ्ना कृतिहरू मार्फत् एकातिर आफू नेपाली साहित्य क्षेत्रमा प्रसिद्ध भए भने अर्कातिर उनले नेपाली साहित्यलाई पनि प्रसिद्ध बनाए | भतिजाको बिहेमा नाबोलाई जान खोज्दा श्रीमतीले नबोलाई त कुकुर पनि नजाओस् भन्दा मुरलीधरले माथिका पङ्क्तिहरू निकाल्दछन् |
माथिका पङ्क्तिहरूले कुकुर र मानिसमा हुने फरक औंल्याउने कार्य गरेको छ | साथै कुकुरले वहन गर्ने उत्तरदायित्व र मानिसले वहन गर्ने उत्तरदायित्वमा हुने अन्तर पनि यहाँ प्रस्तुत गरिएको छ | जुनसुकै घर परिवारमा पनि सानातिना मतभेदहरू, विवादहरू सृजना हुन सक्दछन् | तिनै मतभेद र विवादहरूले गर्दा पारिवारिक झैँझगडा, कलह, आपसी मनमुटावहरूको जन्म हुन जान्छ | यसको फलस्वरुप परिवारका सदस्यहरूको बोलीचाली बन्द हुने, आवतजावत बन्द हुने, भैपरी आउँदा असहयोग गर्ने जस्ता घटनाहरू घट्ने गर्दछन् | साथै आफन्तका घरमा कुनै चाडपर्व, सामाजिक तथा धार्मिक कार्य हुँदा एकले अर्कोलाई बेवास्ता गर्ने जस्ता घटना पनि घट्ने हुन्छन् | यस्ता कार्यमा संलग्न सबैले के ध्यान दिनुपर्छ भने यसले आफ्नो परिवार वा कूल खानदानको मर्यादा र इज्जतलाई कति लाभ अथवा हानि पुग्दछ ? यसका माध्यमले पछिल्ला पिंढीका सन्तानहरूको के अवस्था होला ? कुकुरले निर्वाह गर्ने खालको मात्र जिम्मेवारी निर्वाह गर्ने हो भने कुकुर र मानिसमा के नै भिन्नता रहन्छ ? यस कथाको यथार्थलाई बुझ्ने हो भने प्रत्येक सन्तानहरूका काँधमा कूल खान्दाको इज्जत निर्भर रहन्छ | सबैले त्यसलाई जोगाई सुरक्षित राख्ने कोशिस गर्नुपर्छ | सामाजिक र धार्मिक कार्यमा सानातिना आपसी कलहले नबोलाउने र नजाने गर्नु शोभनीय देखिदैनन् | त्यही भएर नबोलाएर पनि शशिधरको बिहेमा गएर मुरलीधरले आफ्नो कर्तव्य राम्ररी पूरा गरेको देखिन्छ |
प्रस्तुत कथामा एउटा परिवार वा कूल खानदानले कति दु:ख कष्ट सहेर आफ्नो इज्जत र मानमर्यादा बचाउई राखेका हुन्छन् | त्यसलाई परिवारको एउटै सदस्यले पनि उडाइदिन सक्छ | यो राम्रो काम नभएर समय परिस्थिति हेरी आवश्यक परेको बेलामा उपस्थित हुँदा राम्रो हुन्छ | तसर्थ सबैमा आ-आफ्नो कर्तव्य बोध गराइ, विशेष आफ्नो परिवारप्रति के कस्तो कर्तव्य रहन्छ र त्यसलाई कसरी पूरा गर्नुपर्छ भन्ने विषयमा यो कथा केन्द्रित छ |
कर्तव्य' कथामा कथाकारले नेपाली समाजका केकस्ता वास्तविकताहरूलाई देखाउन खोजेका छन् |
नेपाली साहित्य क्षेत्रको आधुनिक कथाका प्रारम्भकर्ता गुरुप्रसाद मैनाली (वि.सं. १९५७ – २०२८) हुन् | उनले नेपाली समाजका यथार्थ घटनाहरूलाई जस्ताको तस्तै आफ्ना कथाहरूमा निकै नै कलात्मक ढङ्गले चित्रण गरेका छन् | सामाजिक यथार्थवादी कथाकारका रूपमा स्थापित मैनालीले नेपालको ग्रामीणसमाजका मुल्य एवम् मान्यतालाई आधार बनाएर शहिद, नासो, परालको आगो, कर्तव्य जस्ता कथाहरू नेपाली साहित्यलाई दिएका छन् | समस्याग्रस्त नेपाली समाजलाई नजिकैबाट नियालेर मानवजीवनका दु:ख र पीडाहरूलाई उनले आफ्ना कथाहरूमा झल्काएका हुँदा मैनालीलाई सामाजिक यथार्थवादी कथाकार मानिन्छ |
मैनालीको विवेच्य कथा 'कर्तव्य' एक सामाजिक कथा हो | यस कथाले परम्परित नेपाली समाजको एउटा सानो घटनालाई प्रस्तुत गरेको छ | नेपाली समाजमा पैतृक सम्पत्ति छोराहरूले अंशवण्डा गर्ने सामाजिक परम्परा रहिआएको छ | बाबुआमाका शेषपछि उनीहरूका नाममा रहेको जिउनी सम्पत्तिलाई पनि सोही परम्पराअनुसार बाँड्ने प्रचलन एकातर्फ पाइन्छ भने अर्कातर्फ बाँचुन्जेल जुन छोरासँग बाबुआमा बसेका हुन्छन् या जसले पालेको हुन्छ मृत्युपश्चात् त्यही छोराले जिउनी सम्पत्ति उपभोग गर्ने प्रचलन पनि कायमै छ | यही पैतृक जिउनी सम्पत्तिका विषयमा बाबुआमाले जीवनको अन्तिम घडीमा जे भनेर परमधाम भएका हुन्छन्, सोहीअनुरूप गर्ने प्रचलन पनि नेपाली समाज कायमै छ | यस्तै झिनामसिना विषयमा छोराहरूका बीचमा एकआपसमा मनमुटाव हुने गर्दछ र त्यसले उग्ररूप पनि लिन सक्दछ, बोलचाल र आवतजावत समेत बन्द हुन जान्छ तर त्यसो भयो भन्दैमा आफ्नो कर्तव्य र जिम्मेवारीबाट पन्छिनु हुँदैन | आफूले सकारात्मक दृष्टिकोण राखेर सत्कर्म गरेपछि अर्काको मनमा पनि सकारात्मक भावनाको विकास हुन सक्छ | "आफू भलो त जगत् भलो" भन्ने नेपाली उखान नै छ |
समग्रमा भन्दा आफूले सदैव राम्रो व्यवहार ग्रहण गरी असल कर्म गरे अर्कोले पनि आफूप्रति त्यस्तै व्यवहार गर्न बाध्य हुन्छ भन्ने नेपाली समाजका यी र यस्तै वास्तविकताहरूलाई प्रस्तुत कथा 'कर्तव्य' मा कथाकार मैनालीले देखाउन खोजेका छन् |
"धनसम्पत्ति भन्दा नातासम्बन्ध ठूलो कुरो हो" भन्ने भनाइ कर्तव्य कथाका आधारमा पुष्टि गर्नुहोस् |
नेपाली आधुनिक कथाका विधाका प्रणेता गुरुप्रसाद मैनाली (वि.सं. १९५७ – २०२८) हुन् | उनले 'नासो' लेखेपछि नेपाली साहित्यमा कथाको मोडले नयाँ क्षीतिज उघारेको पाइन्छ | उनले नेपाली समाजका यथार्थ घटनाहरूलाई जस्ताको तस्तै आफ्ना कथाहरूमा निकै नै कलात्मक ढङ्गले चित्रण गरेका छन् | सामाजिक यथार्थवादी कथाकारका रूपमा स्थापित मैनालीले नेपालको ग्रामीणसमाजका मुल्य एवम् मान्यतालाई आधार बनाएर सहिद, नासो, परालको आगो, कर्तव्य आदिजस्ता अमूल्य कथाहरूको रचना गरी नेपाली साहित्यलाई दिएर उल्लेखनीय योगदान गरेका छन् | समस्याग्रस्त नेपाली समाजलाई नजिकैबाट नियालेर मानवजीवनका दु:ख र पीडाहरूलाई मार्मिक ढंगले आफ्ना कथाहरूमा प्रस्तुत गर्न सफल मैनाली आदर्शमा विश्वास राख्ने हुनाले उनका रचनामा एक न एक आदर्शवादी चरित्र राखेकै हुन्छन्, र त्यस चरित्रले सधैँ पाठकहरूको उच्च महिमायुक्त जीवनका लागि अगाडि बढ्न अभिप्रेरित गरेको हुन्छ |
प्रस्तुत कथा 'कर्तव्य' मा पनि आदर्शवादी विचारले प्रेरित मैनालीले आदर्श चरित्रका रूपमा मुरलीधरलाई उभ्याई भौतिक धनसम्पत्ति भन्दा नातासम्बन्ध नै ठूलो हुन्छ भन्ने आदर्शवादी विचारलाई उनको मध्यमद्वारा व्यक्त गराएका छन् | भौतिक धनसम्पत्तिका विषयमा मुरलीधर र श्रीधर दाजुभाइका बीचमा विवाद उत्पन्न भएपछि त्यसले जेजस्तो अवस्था सिर्जना गर्यो त्यो पक्कैनै दुवैका लागि उपलब्धिमूलक थिएन | समाजमा परम्परागत रूपमा गरिने सामाजिक, साँस्कृतिक आदि कार्यहरूमा नातासम्बन्धका व्यक्तिको सरसहयोग एवम् उपस्थिति महत्वपूर्ण हुन्छ | धनसम्पत्ति क्षणिक वस्तु हो भने नातासम्बन्ध रगतको हुने भएकाले यसलाई तुलनात्मक रूपमा धनसम्पत्तिभन्दा ठूलो मानिन्छ |
यही दृटिकोणका आधारमा विवेच्य कथाका आदर्श पात्र मुरलीधरले भाइ अशक्तभएका कारण भतिजाको बिहेमा उपस्थित भएर आफ्नो रगतको नातासम्बन्धलाई समाजका अगाडि उच्चतम विन्दुमा पुर्याई स्थापित गरेका छन् | दाजुको यस कार्यको अनुसरण गर्दै भाइले पनि दाजुप्रतिको आस्थामा सुधार गर्दै जिउनी खेत आधा कमाउने सन्देश पठाउनु र दाजुले भाइलाई उपचारगर्न विदेशतिर लिएर जानुजस्ता कार्यले 'धनसम्पत्ति भन्दा नातासम्बन्ध नै ठूलो कुरा हो' भनी यस 'कर्तव्य' कथाका आधारमा पुष्टि गर्न सकिन्छ |
© 2019-20 Kullabs. All Rights Reserved.