Subject: Nepali
नाम र सर्वनाम बीचमा हुने सिधा सम्बन्धलाई कारक भनिन्छ | वाक्यमा क्रियापदसँग सम्बन्ध राख्ने नामिक शब्द (नाम, सर्वनाम र विशेषण) का रूपहरूलाई कारक भनिन्छ | अर्थात् नामपद र क्रियापदका बीचमा हुने भूमिकामुलक अर्थतात्विक सम्बन्ध नै कारक हो |
जस्तै :-
उसले सुजनलाई लठ्ठीले हान्यो |
यस वाक्यमा 'हान्यो' क्रियापदसँग तीनओटा नामिक शब्दहरू 'उसले', 'सुजनलाई', 'लठ्ठीले' सम्बन्धित भएर वाक्यमा आ-आफ्नो भूमिका खेलेका छन् :भूमिका खेल्ने / काम गर्ने शब्द क्रियापद कार्य / भूमिका
उसले हान्यो ऊ : कर्ता (काम गर्ने)
सुजनलाई हान्यो सुजन : कर्म (कामको असर पर्ने
लठ्ठीले हान्यो लठ्ठी : करण (हान्ने साधन)
यसरी माथिको वाक्यमा क्रियापदसँग सम्बन्ध राख्ने 'ऊ' 'सुजन' र 'लठ्ठी' ले क्रमशः कर्ता, कर्म र करणको भूमिका खेलेका हुनाले ती कारक हुन् |
कर्ता कारक
वाक्यमा कुनै पनि कार्य सम्पादन गर्ने नामिक शब्दलाई कर्ता कारक भनिन्छ | यसमा प्राय 'को' वा 'कसले' भन्ने प्रश्नको उत्तर आउँछ | त्यस्तै कर्ता कारकमा सामान्यतया 'ले/बाट/द्वारा' जस्ता प्रथमा विभक्तिका चिन्हहरू लाग्दछन् |
जस्तै :-
रेशमले गीत गायो |
तिनीहरू घर गएनन् |
वीरले युद्ध जित्यो |
कर्म कारक
वाक्यमा कामको परिणाम भोग्ने वा असर पर्ने नामिक शब्दलाई कर्म कारक भनिन्छ | यसमा प्राय 'के' वा 'कसलाई' यसमा सामान्यतया द्वितीया विभक्तिको चिन्ह 'लाई' लाग्दछ |
जस्तै :-
म खुशीलाई पिट्छु |
ऊ पत्रका बेच्छ |
किरणले सोझालाई हेप्छ |
करण कारक
वाक्यमा काम गर्न प्रयोग गरिने साधन, कारण वा हेतु बुझाउन आउने नामिक शब्दलाई करण कारक भनिन्छ | यस कारकमा प्राय 'के ले' वा 'के बाट' भन्ने प्रश्नको उत्तर आउँछ | यसमा सामान्यतया 'ले/ बाट/ द्वारा' जस्ता तृतीय विभक्तिका चिन्हहरू लाग्दछन् |
जस्तै :-
बहिनी चम्चाले खाना खान्छे |
उसले गणेशद्वारा काम बनायो |
हामी बसबाट मुक्तिनाथ गयौँ |
सम्प्रदान कारक
वाक्यमा क्रियाले गर्ने कामको लक्ष्य वा काम गरेको प्रयोजन बनी आउने नामिक शब्दलाई सम्प्रदान कारक भनिन्छ | यो प्राय 'कसलाई' भन्ने प्रश्नको उत्तरमा आउँछ | यसमा 'लागि/ निम्ति/ लाई' जस्ता चतुर्थी विभक्तिका चिन्हहरू लाग्दछन् |
जस्तै :-
हामीले भूकम्पपिढीतका लागि चन्दा उठायौँ |
कलाले पूजाका निम्ति फूल टिपी |
बुबाले भाइलाई लुगा ल्याइदिनुभयो |
अपादान कारक :
वाक्यमा काम सुरु हुने समय, छुट्टिने ठाउँ वा वस्तुको स्रोत बनेर प्रयोग गरिने शब्दलाई अपादान कारक भनिन्छ | यसमा प्राय 'देखि/ बाट' जस्ता पन्चमी विभक्तिका चिन्हहरू लाग्दछन् |
जस्तै :-
आइतबारदेखि पानी पर्दैछ |
ऊ सिन्धुलीबाट आइपुग्यो |
बाँदर रूखबाट हाम्फाल्यो |
अधिकरण कारक :
वाक्यमा हुने कामको ठाउँ, समय वा विषयको आधार देखाउने नामिक शब्दलाई अधिकरण कारक भनिन्छ | यो कारकमा प्राय 'कहाँ वा कहिले' भन्ने प्रश्नको उत्तरमा आउँछ | यसमा 'मा', 'माथि' जस्ता सप्तमी विभक्तिका चिन्हहरू लाग्दछन् |
जस्तै :-
चरो रूखमा बसेको छ |
घरमाथि हेलिकोप्टर उड्दै छ |
कलम झोलामा राख |
आफ्नो कुनै स्वतन्त्र अर्थ नभएको तर नामिक पदसँग जोडिएर पदिय अन्तरसम्बन्ध कायम गरी क्रियासँग सम्बन्ध राख्ने परसर्गलाई विभक्ति भनिन्छ | अर्थात् नामिक शब्द (नाम, सर्वनाम, विशेषण) का पछाडि आएर कराकलाई छुट्याउने चिन्हहरूलाई विभक्ति भनिन्छ | विभक्तिले एउटा शब्दको क्रियासँग रहने सम्बन्धलाई स्पष्ट पारेर देखाउन सहयोग गर्दछन् |
जस्तै :-
ऊ बिहानदेखि खेल्दै छन् |
सुमनद्वारा सामान किनियो |
एक घण्टामा बसपार्क पुगिन्छ |
दिलिपले मलाई किताब ल्याइदियो |
जोगीले चामल झोलामा राख्यो र आँगनबाट हिँड्यो |
कारक र विभक्तिका अर्थ र चिन्हहरूको तालिका
कारक |
सम्बन्ध/भूमिका/अर्थ |
विभक्ति |
विभक्ति चिन्ह |
कर्ता |
काम गर्ने |
प्रथमा
|
ले/बाट/ द्वारा |
कर्म |
कामको असर पर्ने |
द्वितीया
|
लाई/ कन |
करण |
काम गर्ने साधन |
तृतीया
|
ले/ बाट/ द्वारा |
सम्प्रदान |
जसका लागि काम गरिन्छ |
चतुर्थी |
लाई/ लागि/ निम्ति |
उपादान |
छुट्टिने ठाउँ/ सुरु हुने समय |
पन्चमी |
देखि/ बाट |
सम्बन्ध |
नाता र स्वामित्व |
षष्ठी |
को, का, की,/ रो, रा, री/ नो, ना, नी |
अधिकरण |
आधार/ आश्रय दिने |
सप्तमी |
मा /माथि |
सम्बोधन |
बोलावट
|
सम्बोधन
|
हे/ ए/ ओ |
पाठबाट सबै प्रकारका कारक र विभक्तिका एकएक उदाहरण खोजेर लेख्नुहोस् :
तल दिएका वाक्यमा रेखाङ्कन गरिएका पदहरूको कारक छुट्याउनुहोस् :
अ) पोखराबाट काठमाडौँ आएका आफ्ना दाइलाई शिवानीले किस्तीमा राखेर उपहार दिइन् |
पोखराबाट - अपादान कारक
दाइलाई - सम्प्रदान कारक
शिवानीले - कर्ता कारक
किस्तीमा - अधिकरण कारक
उपहार - कर्म कारक
बुबाले बजारबाट भाइलाई कलम ल्याइदिनुभयो |
बुबाले - कर्ता कारक
बजारबाट - अपादान कारक
भाइलाई - सम्प्रदान कारक
कलम - कर्म कारक
उनले झटाराले हानी रूखबाट नास्पाती झारे |
उनले - कर्ता कारक
झटाराले - करण कारक
रूखबाट - अपादान कारक
नास्पाती - कर्म कारक
चेतनले रूखमा फलेको फल लट्ठीले हानेर भुइँमा खसाल्यो |
चेतनले - कर्ता कारक
रूखमा - अधिकरण कारक
लठ्ठीले - करण कारक
भुइँमा - अधिकरण कारक
किसानले इनारबाट बाल्टिनले पानी झिकी तरकारीबारीमा सिँचाइ गर्यो |
किसानले - कर्ता कारक
इनारबाट - अपादान कारक
बाल्टिनले - करण कारक
तरकारीबारीमा - अधिकरण कारक
दाइले हिजो बेलायतबाट कान्छा भाइलाई भनी जहाजमा सामान पठाउनुभयो |
दाइले - कर्ता कारक
बेलायतबाट - अपादान कारक
भाइलाई - सम्प्रदान कारक
जहाजमा - अधिकरण कारक
सामान - कर्म कारक
द्रोण भाइलाई कापी ल्याइदिन्छ |
द्रोण - कर्ता कारक
भाइलाई - सम्प्रदान कारक
कापी - करण कारक
किरणले सोझालाई हेप्छ |
किरणले - कर्ता कारक
सोझालाई - सम्प्रदान कारक
आमा तिर्थदेखि आइपुग्नुभयो |
आमा - कर्ता कारक
तिर्थदेखि - अपादन
म पशुपतिनाथमा तपस्या गर्छु |
म - कर्ता कारक
पशुपतिनाथमा - अधिकरण
तपस्या - कर्म कारक
तल दिएइका वाक्यमा रेखाङ्कन गरिएका विभक्तिको नाम लेख्नुहोस् :
उसले सुमलाई पैसा दिई र दराजमा राख भनी |
ले - प्रथमा लाई - द्वितीया
मा - सप्तमी
पहाडमा बस्ने भरियाले खच्चडद्वारा भारी बोकाई गाउँमा पठाउँछन् |
मा - सप्तमी ले - प्रथमा
द्वारा - तृतीया मा - सप्तमी
रामको भाइ भोकले रोयो अनि मैले उसलाई कचौरामा हाली दूधभात दिएँ |
को - षष्ठी ले - प्रथमा
लाई - द्वितीया मा - सप्तमी
दिदीले भाइका आँखामाथि उडेको भुसुनालाई हातले धपाइरहँदा पुनमले लेखनलाई समय नै पाइन |
ले - प्रथमा का - षष्ठी
लाई - द्वितीया ले - प्रथमा
लाई - चतुर्थी
हातमा किताब बोकेर घरबाट विद्यालय गइरहेको रफिदलाई कुकुरले एक्कासी टोक्न खोज्दा उसले ढुङ्गाले हिर्कायो |
मा - सप्तमी बाट - पन्चमी
लाई - द्वितीया ले - तृतीया
ले - प्रथमा ले - तृतीया
रामजीले चरालाई गुलेलीले हानेछन् |
ले - प्रथमा लाई - द्वितीया
ले - तृतीया
हाम्रो विद्यालयको छेउमा पोखरी छ |
को - षष्ठी मा - सप्तमी
रमिलाले पिठो मुछी र तावामा रोटी पकाई, अनि सबैलाई खान दिई |
ले - प्रथमा मा - सप्तमी
लाई - सम्प्रदान
दिदी विदेशदेखि आज जहाजमा आउँदै हुनुहुन्छ |
देखि - पन्चमी मा - सप्तमी
संजयले लठ्ठीले सर्प मारेर बाटामा फ्याक्यो |
ले - प्रथमा ले - तृतीया
मा - सप्तमी
सबै प्रकारका कारक र विभक्तिको प्रयोग गर्दै तपाईंको विद्यालयको वर्णन गरी एक अनुच्छेद लेख्नुहोस् :
मैले कक्षा एकबाट नै पढेको विद्यालय जनता माध्यमिक विद्यालयका नामबाट हाम्रो गाउँमा मात्र नभई जिल्लामा पनि त्यतिकै प्रख्यात छ | जसमा कक्षा एकदेखि दशसम्म पठनपाठन हुन्छ भने विद्यार्थीको सङ्ख्या जम्मा ५३० रहेको छ | विद्यालय भौतिक तथा वातावरणीय संरचना पनि निकै नै राम्रो मानिन्छ | जम्मा चार वटा भवन र एक्काइस वटा कोठा भएको हाम्रो विद्यालयमा सबै कक्षाकोठामा आवश्यक शैक्षिक तथा भौतिक सामग्रीहरू भरिपूर्ण छन् | नेपाली र अङ्ग्रेजी दुवै माध्यमद्वारा पठनपाठन हुने हाम्रो विद्यालयका शिक्षकहरू पनि दक्ष र तालिमप्राप्त छन् | तीस जना शिक्षकहरू रहेको हाम्रो विद्यालयमा विद्यार्थी र शिक्षकहरू बीच आत्मीय सम्बन्ध प्रष्ट देखिन्छ | हामीलाई विद्यालयद्वारा आयोजना गरिने विभिन्न कार्यक्रमहरूमा पनि उपस्थित गराई आफू र आफ्ना साथीहरूलाई सबैमाझ परिचित हुने तथा आफ्नो प्रतिभा प्रस्तुत गर्ने मौका पनि दिइन्छ | समग्रमा भन्दा अन्य विद्यालयको तुलनामा हाम्रो विद्यालय आर्थिक, भौतिक, शैक्षिक, वातावरणीय तथा व्यपस्थापनका दृष्टिले उत्तम मानिन्छ |
© 2019-20 Kullabs. All Rights Reserved.