Subject: Nepali
भानुभक्त आचार्यको जन्म धनन्जय आचार्य र धर्मावतीदेवीका पुत्रको रूपमा तनहुँको चुँदी तम्घमा वि.सं.१९७१ असार २९ गते भएको थियो। बाजे श्रीकृष्ण आचार्यबाट शिक्षा पाएका यिनले एउटा घाँसीको घाँस काटेर कुवा, पाटी - पौवा बनाउने इच्छाबाट मरेपछि पनि केही न केही नाम रहोस् भन्ने प्रेरणा पाएका थिए भन्ने भनाइ छ।
१९५ वर्षअघि उदाएका नेपाली बाङ्ग्मयका ज्योति भानुभक्त आचार्य राणाकालीन संकटपूर्ण, अस्थिर वातावरणभित्र रामको आदर्श सृष्टि गर्ने एक मार्गदर्शक हुन्। मनुष्य जीवन र सम्पूर्ण संसारका प्रतीक र मृत्युका प्रतीक रामको राजमहलबाट वनबास यात्रा लोकहितका निम्ति जस्तो पनि काम गर्नुपर्छ भन्ने आदर्श उनले प्रचार गरे।
नेपाली जगतमा एकैपल्ट भाषा, साहित्य, संस्कृति, धर्म, परम्परा, चरित्र, मर्यादा, पितृप्रेम, भातृत्व, कर्तव्य, देशप्रेम, जस्ता समग्र विषयको समन्वय एवं समष्टि भाव प्रदान गरेर भानुभक्तले आदिकवि तथा नेपालको राष्ट्रिय विभूति जस्ता सम्मान पाएका हुन्। नेपाली भाषा साहित्यको श्रीगणेश गर्ने तथा रामायण जस्तो वृहत काव्यलाई नेपाली भाषामा रुपान्तरण गरी आफ्नो प्रतिभा झल्काएका छन् |
. अन्य थुप्रै फुटकर कविताहरु
प्रस्तुत कवितामा कविले जीवनजगतका विभिन्न पक्षमाथि प्रश्न पठाएर तिनको उत्तर दिने प्रयास गरेका छन् | उपजाति र वसन्ततिलका छन्दमा रचित प्रस्तुत कवितामा कविले जीवनोपयोगी सुक्तिका रूपमा आएका यी प्रसङ्गले सत्य पक्षको खोजी गर्न पनि सहयोग गर्दछ |
प्रस्तुत कवितामा कविले प्रश्न सोध्दै त्यसको उत्तर पनि दिएका छन् | कविता मार्फत समाजलाई नैतिक चेतना तथा आदर्शतिर उन्मुख गराउने प्रयत्न गरेका छन्पहिलो पंतिमा शत्रु कसलाई मान्ने भन्दा आफ्नै दश इन्द्रिय शत्रु र तिनै दश इन्द्रिय मित्र पनि हुन् भन्दछन् | एवम् क्रमले अरू सबै पंतिमा सोहि अनुरुप प्रश्न र जवाफ पनि दिएका छन् |
यस कवितामा मानिसका इन्द्रियलाई किन शत्रु र मित्र दुवै हुन् भनिएको हो ?
मानव शरीरमा जम्मा दशवटा इन्द्रीयहरू हुन्छन् | ज्ञानशक्तिका आधारमा पाँच ज्ञानेन्द्रिय (आँखा, कान, नाक, छाला र जिब्रो) हुन्छन् भने कर्मशाक्तिका आधारमा पाँच कर्मेन्द्रिय (वाक्, पाणि, पाद, वायु र उपस्थ) हुन्छन् | यी दशवटा इन्द्रियलाई मानिसले आफ्नो नियन्त्रणमा राख्नुपर्दछ | यदि नियन्त्रण गर्न नसक्दा आपसी व्यवहारमा यिनै इन्द्रियका कारण बैमनस्यता बढाउछ | यी इन्द्रियहरूलाई मानिसले आफ्नो वशमा राखेर आपसमा व्यवहार गर्दा सबैसँग मित्रता बढ्उँछ | तसर्थ असल एवम् खराब दुवै कार्य गर्नमा मानिसलाई यी इन्द्रियहरू नै प्रेरित गर्ने भएकाले इन्द्रियलाई शत्रु र मित्र दुवै भनिएको हो |
विद्यालाई कवितामा कुनकुन रूपमा चित्रण गरिएको छ ?
सर्वप्रथम कविले यस कविता विद्यालाई संसारलाई सुन्दर बनाई सिँगार्ने प्रमुख गहनाको रूपमा चित्रण गरेका छन् | हामीलाई आमाले झैँ सुख दिने वस्तु भनेको विद्या नै हो, यो बाहेक संसारमा अरू त्यस्ता कुनै वस्तु छैनन् | त्यस्तै गरी आफूले अरूलाई जति बाँड्यो वा दियो, त्यति नै आफूमा बृद्धि हुँदै जाने तथा कहिल्यै नघट्ने वस्तु हो भनी यसरी विद्यालाई कवितामा गहना रूपमा, जन्म दिने आमासमान सुख दिने वस्तुका रूपमा र जति खर्चियो उतिनै बढ्दै जाने वस्तुका रूपमा चित्रण गरिएको छ |
विद्याले मानिसलाई कसरी आमाले जस्तै सुख दिन्छ ?
विद्यारूपी धनलाई संसारमा सबैभन्दा ठूलो धन मानिन्छ | कुनै चोरले चोर्न नसक्ने, दाजुभाइका बीचमा भागवण्डा गर्न नमिल्ने र जति बढी भएपनि गह्रौँ नहुने वस्तु नै विद्या हो | विद्याले मनिसको बौद्धिक, तार्किक, क्षमतावान एवम् विभिन्न प्रतिभा र ज्ञानको भण्डार सिर्जना गराउंदछ | त्यस्तै विद्याले मानिसलाई समाजका हरेक क्षेत्रमा शिष्ट, आदर्श, नैतिकवान र विनयी व्यक्तिका रूपमा चिनाउँदछ | यही विद्याका माध्यमबाट मानिसले विभिन्न आर्थिक लाभ हुने कार्य गर्छ | यसरी एकातर्फ विद्याले मानिसलाई विनयी र सत्पात्र बनाई त्यसबाट भौतिक धन उपलब्ध गराई सुख दिलाउँछ भने अर्कातार्फ समाजमा इज्जत, मानमर्यादा र प्रतिष्ठा बढाई आत्मसन्तुष्टि दिलाएर विद्याले मानिसलाई आमाले जस्तै सुख दिन्छ |
कस्तो मानिस सभा बीच शोभायमान देखिन्छ ?
मानिसको लागी विद्या महत्वपूर्ण गहना हो | जसले उसको जीवनलाई सुन्दर पार्न मद्दत गर्दछ | जसरी फल फलेको रूखले शोभा पाउँछ ठीक त्यसरी नै मानवरूपी वृक्षलाई विद्यारूपी फलको आवश्यकता पर्दछ अर्थात जसले विभिन्न किसिमका पुराण, दर्शन, वेद, उपनिषद आदि शास्त्रहरुको गहन अध्ययनबाट प्राप्त गरेको ज्ञानका आधारमा उसले सभामा उपस्थित स्रोतावर्गको मनलाई शास्त्रमा उल्लेख गरिएको प्रमाणलाई प्रस्तुत गर्दै तर्कयुक्त प्रवचन दिएर प्रसन्न गर्दछ, त्यही व्यक्ति सभाका बीचमा शोभायमान देखिन्छ किनभने ऊ शास्त्रको ज्ञानरुपी फलले सुशोभित बनेको हुन्छ |
कवितामा कुन कामलाई किन मानिसले कहिल्यै धारणा गर्नुहुन्न भनिएको छ ?
मानिस सामाजिक प्राणी भएकोले ऊ समाजमा आफ्नो इज्जत र प्रतिस्ठालाई कायम राख्न चाहन्छ | लोकोपकारी कार्य गरी मानिस सामाजमा आफ्नो सुकीर्ति बढाउने उद्देश्यले सत्कर्मतर्फ लाग्छ | यस लोकमा मानिस अनैतिक कार्यतर्फ कहिल्यै लाग्नु हुँदैन | यस्ता कार्यले मानिस उसको समुदायमा घृणित र तिर्स हुन्छ | उसको सम्पूर्ण सामाजिक इज्जत र प्रतिस्ठा र मर्यादा गुम्न सक्छ, सम्मानको सट्टा बदनाम प्राप्त हुन्छ, त्यसैले यस्तो आफ्नो इज्जत र प्रतिस्ठा गुम्ने कार्य गर्नेतर्फ मानिस कहिल्यै अग्रसर हुनहुँदैन भनी कवितामा भनिएको छ |
ज्यूँदै मर्याको भनि नाउँ कस्को ?
उद्मम् विना वित्तछ काल जस्को |
प्रस्तुत पद्म कविताको अंश हाम्रो कक्षा दसको नेपाली पाठ्यपुस्तकमा सङ्कलित 'प्रश्नोत्तर' शीर्षक कविताबाट झिकिएको हो | यस कविताका रचयिता नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्य हुन् | वि.सं. १८७१ मा तनहुँको रम्घा जन्मिएका कवि आचार्यले नेपाली साहित्यको क्षेत्रमा महत्वपूर्ण योगदान गरेका छन् | उनको वि.सं. १९२५ स्वर्गारोहण भएको हो |
नेपाली साहित्यको विकासमा कवि आचार्यको योगदान महत्वपूर्ण स्थान रहेको पाइन्छ | धार्मिक एवं नैतिक चेतना भएका कवि आचार्यको प्रस्तुत कविताले समाजलाई नैतिक आदर्शको मार्गतर्फ दोहोर्याउने लक्ष्य लिएको देखिन्छ | कविले प्रस्तुत कवितामा हाम्रा जुन धार्मिक परम्परासँग सम्बधित नीतिनियमहरू छन् ती सधैँ यथावत रहिरहन्छन् भन्ने कुरा उल्लेख गरेका छन् |
प्रस्तुत कविताका अंशमा मानिस भएर यस संसारमा जन्मिएपछि जसले आफ्नो जीवनको सम्पूर्ण समय उन्नति र प्रगतिविना बिताउँछ, त्यस्तो व्यक्ति ऊ जीवितै भए तापनि मारेतुल्य मानिन्छ भनि कविले बताएका छन् | मानिस प्राणीहरुमध्येको सचेत एवं सर्वश्रेष्ठ प्राणी मानिन्छ | उसले अन्य प्राणीको भन्दा फरक हुनुपर्दछ, अन्यथा मानिस भएर बाँच्नुको कुनै अर्थ हुँदैन | यस अर्थमा मानवजीवनलाई सार्थक बनाउनका लागि उसको बुद्धि र विवेकको प्रयोगबाट मृत्युपर्यन्त आफु अमर रहने हेतुले उन्नति प्रगति गर्नैपर्दछ, जसले यस्तो कार्य गर्दैन, त्यो मरेतुल्य हुन्छ भनी माथिको कविताका अंशमा कविले प्रस्ट परेका छन् |
मतसरी सुख दिन्या कुन चिज् छ जान्नू ?
विद्यै छ यस्तो अरु कौन खोज्नू ?
प्रस्तुत कविताको अंश हाम्रो कक्षा दसको नेपाली किताबको आदीकवि भानुभक्त आचार्यद्वारा रचना गरिएको 'प्रश्नोत्तर' शीर्षक कविताबाट झिकिएको हो | वि.सं. (१८७१ – १९२५) आचार्यले नेपाली साहित्यका क्षेत्रमा विभिन्न काव्यकृतिहरुको रचना गरी विशेष सहयोग पुर्याएको छन् |
प्रस्तुत कविताका अंशमा कविले विद्याको महत्व र महिमाका सम्बन्धमा व्याख्या गरेका छन् | संसारमा मानिसलाई जन्मदिने आमाले लालन, पालन र पोषण गरेर जसरी सुख दिएकी हुन्छिन्, त्यसरी नै विद्याले मानिसलाई उसका अनेकौ आवश्यकताहरू पूर्ति गरी सुखभोग गर्नमा सहयोग गर्दछ | जसले विद्या आर्जन गरेको छ उक्त व्यक्ति ज्ञानी, विवेकी र सहनशील हुन्छ | विद्वानको सबै तिर प्रशंसा हुन्छ, उसको विद्वत्ताको कदर गरिन्छ | यही विद्वत्ताको प्रयोग गरेर उसले प्रशस्त आर्थिक लाभ प्राप्त गर्छ | यसरी आर्थिक लाभ गरेपाछि उसले आफ्ना जीवनका सम्पूर्ण आवश्यकताहरू क्रमश: पूरा गर्दै जान्छ र ऊ खुशी र सुखी हुन्छ |
त्यसैले आमाले जत्तिकै सुख दिने वस्तु मानिसका जीवनमा विद्यावाहेक अरू कुनै पनि छैन भनी कवि आचार्यले उल्लेखित कविताको अंशमा प्रष्ट्याएका छन्
केकस्ता कामहरू गर्न सकियो भने मानवजीवन सार्थक हुन्छ ? कविताका आधारमा विवेचना गर्नुहोस् |
नेपाली साहित्यका चम्किला तारा तथा आदिकवि भानुभक्त आचार्यको जन्म वि. सं. १८७१ मा तनहुँको रम्घा भन्ने गाउँमा भएको थियो | उनले नेपाली साहित्यका क्षेत्रमा थुप्रै कविता तथा काव्यहरू रचना गरी महत्वपूर्ण योगदान दिएका छन् | रामायण, बधुशिक्षा, भक्तमाला तथा प्रश्नोत्तर आदिजस्ता अमूल्य काव्यकृतिहरूको रचना गरी नेपाली साहित्यका क्षेत्रमा आफ्नो नाम अमर बनाएर वि.सं. १९२५ मा स्वर्गीय भए |
प्रस्तुत प्रश्नोत्तर कविता उपजाति र वसन्ततिलका छन्दमा रचना गरिएको छ | कविले प्रश्नोत्तरात्मक कवितामार्फत जीवन र जगतका विभिन्न पक्षमाथि तिनको उत्तर दिने प्रयास गरेका छन् | मानिसको जीवन भोगाइ फरक रहेको छ | बाँच्न त चरो, मूसो पनि बाँचेकै हुन्छ तर मानिसको बँचाइ र चरोमूसोको बँचाइमा भिन्नता हुनुपर्दछ | त्यसका लागि मानिसले सार्थक जीवन जिउने प्रयत्न गर्नुपर्दछ | सार्थक जीवन जिउनका लागि आफ्ना दसै इन्द्रियहरू लाई सर्वप्रथम वशमा राख्नुपर्छ | आफूसँग जे जस्तो वस्तु छ त्यसैमा सन्तोष लिएर बस्नुपर्दछ | आफ्नो जीवनकालमा लोकोन्नतिका कार्यहरू गर्नुपर्दछ; कीर्ति राख्ने उद्ममहरू गर्नुपर्दछ | कुकर्म गर्नेतर्फ कहिल्यै अग्रसर हुनुहुँदैन | प्राणीको हित हुने कार्य गर्नुपर्छ | संसारमा आमासमनको ठूलो वस्तु विद्या नै हो भन्ने कुरालाई बुझ्नुपर्छ | यो बाहेक अन्य कुनै पनि वस्तु आमासमान सुखदायी हुनसक्दैनन् | विद्या त्यस्तो वस्तु हो अरूलाई जति दिए पनि आफूमा कहिल्यै रित्तिदैन, अझ आफ्नो ज्ञानको भण्डार बढ्दै जान्छ भन्ने तथ्यलाई निश्चित रूपमा बुझ्नुपर्छ | समाजमा नैतिक रूपमा पतन हुने अथवा आफ्नो सामाजिक इज्जत प्रतिष्ठामा दाग लाग्ने किसिमका घटिया कार्यहरू कहिल्यै गर्नुहुँदैन |
यसरी पूर्ण रूपमा आफूलाई आत्मानुशासनमा राखेर सामाजिक मर्यादाका सीमाभित्र हिडाउन सकियो भने मात्र मानवजीवन सार्थक हुन सक्छ भनी कवि आचार्यले यस कवितामार्फत उल्लेख गरेका छन् |
" विद्यरूपी धन नै सर्वश्रेष्ठ धन हो" यस भनाइलाई कविताका आधारमा पुष्टि गर्नुहोस् |
नेपाली साहित्यक्षेत्र तथा नेपाली भाषाको एकिकरणकर्ताको रूपमा वि.सं. १८७१ तनहुँ मा जन्मिएका भानुभक्त आचार्य नेपाली भाषा र साहित्यका क्षेत्रमा महत्वपूर्ण योगदान दिएका छन् | कवि आचार्यले भक्तमाला, प्रश्नोत्तर, रामायण, बधुशिक्षा तथा अन्य थुप्रै काव्यकृतिको रचना गरी नेपाली साहित्यको भण्डारलाई विस्तार गरेर उल्लेखनिय योगदान दिए बापत उनलाई आदिकविको उपादिबाट सम्मान गरिको छ | उपजाति र वसन्ततिलका छन्दमा रचना गरिएको प्रस्तुत कवितामा कविले मानिसको सबैभन्दा ठूलो सम्पतिको रूपमा विद्यालाई लिएका छन् |
प्रस्तुत कवितामा कवि आचार्यले जीवनजगतका विविध पक्षमाथि प्रश्न उठाउँदै ती सबै प्रश्नहरूको उत्तर पनि साथसाथै प्रस्तुत गरेर समाधान गर्ने क्रममा विद्यारूपी धनलाई सर्वश्रेष्ठ धनका रूपमा लिएका छन् | संसारलाई ज्ञानविज्ञानका चमत्कारी वस्तुले आज सजाएर सुन्दर बनाएको छ | विज्ञान र प्रविधिको क्षेत्रमा जे जति विकास भएको छ, त्यो सबैको प्रमुख आधार विद्या नै हो | त्यस्तै वर्तमान समयमा संसारलाई विकासको गतिको उच्चतम विन्दुमा पुर्याउने कार्य विद्याले नै सम्भव भएको छ | विद्या सबै व्यक्तिको गहना हो, जसले शास्त्र (विद्या) को गहन अध्ययन गरेको हुन्छ, त्यही व्यक्तिले मात्र सभामा शोभा पाउँछ | आमाले झैँ हामीलाई सुख, सन्तुष्टि दिने वस्तु पनि विद्या नै हो | विद्या आफूसँग जति छ, त्यो अरूलाई दिएर कहिल्यै सकिदैन, बरू अझ आफूमा बढ्दै जान्छ, विद्यालाई कसैले आफूबाट चोरेर वा खोसेर न त लान सक्छ न दाजुभाइमा अंशवण्डा नै गर्न मिल्छ, न त कसैलाई हस्तान्तरण नै गर्न सकिन्छ | यो त व्यक्तिको सबैभन्दा अमूल्य धनको रूपमा रहेको कविले बताएका छन् |
प्रस्तुत कवितामा कविले जीवन र जगतका विभिन्न पक्षमाथि विद्यरूपी ज्ञानको प्रभावलाई सरल र सुन्दर तरीकाले प्रस्तुत गरेका छन् | मानिसको जीवन भोगाइमा कहिल्यै नाश नहुने सर्वश्रेष्ठ धनका रूपमा विद्यालाई लिन सकिन्छ भन्ने धारणा कवि आचार्यले यस कविता मार्फत व्यक्त गरेका छन् |
© 2019-20 Kullabs. All Rights Reserved.