हामीमध्ये कतिपय यस्ता छौं जसको Friends Circle मा एक न एक जना साथी हुन्छ जस्को घर व्यवहार, दिनचर्या, यति सम्म कि जिन्दगी नै खत्तम भइसकेको हुन्छ – कारण लागु पदार्थ दुर्व्यसन। बेलाबेलामा कतै बाट खबर आउने गर्छ “फलानो साथी जेल पुगेछ, फलानो त अहिले Rehab मा छ रे नि, त्यो हामीसंगै पढ्ने फलानो त अस्ति Drug Overdose भएर बितेछ नि, एक पटक समय मिलाएर उसको घर जाउँ न” यस्तै यस्तै। मेरो जिन्दगीमा यस्ता घटना ३ पटक सम्म पर्न गयो। वास्तविकतामा आधारित भएर मेरो मनको बह यो लेख मार्फत आज सम्पूर्ण नेपालीहरु माझ पुर्याउन र लागूऔषध दुर्व्यसन विरुद्ध यहाँहरु सबैले मेरो कथा पढेपछि आफ्नो-आफ्नो तर्फबाट केहि न केहि गर्नुहुनेछ भन्ने आशाका साथ मेरो जिन्दगीमा घटेका ३ वास्तविक घटनाहरु आज सार्वजनिक गर्न गइरहेको छु।
कथा आज भन्दा करीब १३ वर्ष अगाडीबाट सुरु हुन्छ। स्कूलको समयमा हामी ४ अत्यन्तै मिल्ने साथी थियौं, दीपक, सुमन, सुजन र म(नाम काल्पनिक हुन्)। म अलिक पढन्ते, दीपक अलिक हाउडे, सुमन सोझो खालको र सुजन बोलीचालीको भाषामा भन्दा “काम न काजको” थियो। कक्षा १० सम्म बाँकी तीनजना लगभग मेरै भरमा पास हुने गर्थे। हामी ४ जना सधैँ संगै स्कुल जाने र घर फर्कने गर्थ्यौ। म स्कूलको समय देखि नै अलि अलि रक्सी पिउने गर्थे। कहिलेकाहिँ त स्कूलमै पनि खाएर नै जाने गरेको थिएँ। पढाइ राम्रो भएकोले होला कहिल्यै कसैले शंका नै गरेनन्। SLC सकुन्जेल सम्म हामी ४ मध्ये अलिकति कुलत मा फसेको जस्तो देखिने म मात्र थिएँ। SLC पछि मेरो स्कूले जिन्दगीमा जस्तो रक्सी पिउन पनि बन्द भयो। बाआमाले Bridge Course मा भर्ना गरिदिए र मेरा साथीहरु भने कोहि पनि म संग भएनन्। कोहि कता व्यस्त कोहि कता व्यस्त भएकोले बेलाबेलामा घरतिर नै भेट हुन्थ्यो। हामी चार जनाले नै अब नयाँ साथीहरु बनाउन थालेका थियौं। म उनीहरुको नयाँ साथीहरुसंग अलि रुझ्न सक्दिन थिएँ, कोहि Gang Fight को कुरामा रमाउथे त कोहि चुरोट र गाँजामा रमाइलो गर्ने खालका थिए। उनीहरुले खाएको देख्दा तानु तानु लाग्थ्यो, भन्थे tension कम हुन्छ रे, उनीहरु संग लगेर चाहिँ कहिलै तानिन। शायद उनीहरुको जस्तो tension थिएन होला मलाई त्यो बेला। न girlfriend थी न त पढाई बिग्रेको थियो।
११ मा पहिलो पटक मेरो नि लभ पर्यो। अनि त साथीहरुसंगको संगत नि छुट्यो। ६ महिना चलेको त्यो लभ एक झट्कामा उसको महत्वाकांक्षाले गर्दा टुट्यो। फेरी त्यहि साथीहरु याद आए, भेट्न गएँ। मज्जाले चुरोट र गाजा तानेर tension भुलाउन सिकाए उनीहरूले। एक दिन त्यसरी नै रमाउदै गर्दा दीपक आफ्नो फुटेको टाउको समातेर रगत चुहाउँदै हाम्रो जक्सनमा आइपुग्यो। दीपकले एक जना उसको नै साथीको girlfriend लाई I LOVE YOU भन्देको रहेछ र त्यहि रिसमा उसको साथीले रडले टाउकोमा बजार्देछ। सुमन र सुजन अब त्यो केटालाई बाकि नराख्ने भन्दै खुकुरी र तरवार जुटाउन तिर लागे। मैले संगत नगर्दाको त्यो ६ महिनामा धेरै कुरा परिवर्तन भइसकेको रहेछ। मेरा साथीहरु त अहिले उनीहरुका कलेज र वरिपरिको क्षेत्रको गुण्डा नै पो भैसकेको रहेछन। मलाई त अब के हुने हो भनेर डर लाग्न थाल्यो र हस्पिटल लाने बहानामा त्यो ठाउँबाट दीपकलाई लिएर निस्के। दीपकले घरमा bike accident भयो भन्दे न है भन्यो अनि मैले नि त्यहि भनेजस्तै गरिदिएँ। हस्पिटलमा उसको बाआमा आउँदा अब आफ्नो छोराको लागि bike होइन गाडी किनिदिन्छु भनेर पो गफ गरिरहेको सुन्दा मलाई पनि अब दीपकले गाडी पाउने भयो, घुम्न पाइन्छ भनेर सत्य बोल्न मन लागेन।
उता सुमन र सुजन मिलेर त्यो टाउको फुटाइदिने केटालाई नराम्रो संग पिटेछन्। बिचराले डराएर पुलिसमा रिपोर्ट पनि गरेन। म त अब यिनीहरु संग कहिल्यै नि त्यसरी बस्दिन भन्ने सोचेर उनीहरुको जक्सन मा पनि जान छोडें। कक्षा १२ को board परिक्षा को बेलामा घर फर्किदै गर्दा बाटोमा भीड देखेर एस्सो हेरेको त दीपकले एउटा मान्छेलाई पिटिरहेको देखें। अब उ खुकुरी हान्न तयार अवस्थामा थियो। डराइ डराइ “ओइ बहुलाइस कि क्या हो, के गर्न ला’को?” भनें। उ एकपटक म तर्फ फर्कियो र “ए, शिरिष पो रै’छ, के छ यार तेरो हालखबर?” भन्दै खुकुरी बोकेर म तिर आयो। बहुलाले मार्ने भयो भन्ने सोचेर म निस्कन खोजें तर उसले “हिंड चिया खान जाम” भनेर नजिकैको भट्टीमा लिएर गयो। उता खुकुरीले लाग्ने भयो भनेर कुचुक्क परेर बसेको त्यो केटोले के भा’को भनेर भेउ नै पाएन। पछि थाहा पाएँ दीपक कुनै नशामा रहेछ र आफुले के गर्छ उसलाई नै थाहा नहुदो रहेछ त्यो बेलामा। उ मज्जाले धाक लगाउने पारामा आफुले आजकल गाँजा मात्र होइन धेरै थरीका औषधिहरु मजाको लागि लिने गरेको बताउन थाल्यो। सुमन र सुजन पनि सधैँ उ संगै हुदा रहेछन्। सबै दीपक जस्तै, बोलीचालीको भाषामा भन्नुपर्दा, बिग्रिसकेको रहेछन्।
त्यो दिन पछि मैले ति तीनजनालाई कहिल्यै नि नभेट्ने सोचें। मलाई त्यस्ता झमेलामा पर्नु नै थिएन। त्यो दिनपछि म कहिल्यै उनीहरुको वरिपरी परिन। त्यसको करीब ६ महिनामा सुमन आधा किलो brown sugar सहित समातियो भन्ने सुन्नमा आयो। त्यति धेरै मात्रामा समातिएकोले उसलाई दुर्व्यसनी भन्दा पनि बिक्री-वितरणको case लागेछ। १० वर्षको लागि उ जेल जान बाध्य भएछ। त्यस्तो भइसकेपछि दीपक सुध्रियो कि भन्ने सोचेर उसलाई भेट्ने विचारले उसको घर जादाँ थाहा भयो नेपालमा उसको बाआमाले केहि गर्न नसकेर उसलाई दुबई पठाउनु भएको रहेछ, तर त्यहाँ टिक्न नसकेर फर्केर आएछ। अहिले घरमा पनि बस्दैन रहेछ। गुण्डागर्दीमा खुब नाम कमाएको छ रे भन्ने पनि सुन्नमा आयो त्यो बेला। अहिले चाहिं फरार छ रे भन्ने सुनेको छु। सुजनले आज भन्दा ७ महिना अगाडि Drug Overdose को कारणले यो संसार छाड्यो।
मैले एउटा ठुलो गल्ती गरेको जस्तो लाग्छ। मैले केहि गरेको भए शायद आज मेरा ती तीनैजना ट्यापे साथीहरु म जस्तै राम्रो जिन्दगी बाँचिरहेको हुन्थे। त्यो दिन मैले दीपकले झगडा गरेर टाउको फुटाको भनेर उस्को बाआमालाई भनिदिएको भए शायद आज उ गुण्डा बनेर भाग्दै हिन्नुपर्ने थिएन होला। सुमनको संगत ठिक छैन भनेर उसको घरमा खबर गरिदिएको भए शायद उ आज जेलमा हुन्नाथियो होला। सुजनलाई लात हानेर हुन्छ कि गाली गरेर हुन्छ, नयाँ नयाँ नशाको स्रोत खोज्ने उसको बानी सुधार्न सकेको भए कमसेकम उ आज जिउँदो त हुन्थ्यो।
मेरा गल्तीहरु यहाँहरुले नदोहोर्याउनु होला भन्ने आशा राखेर यो लेख को अन्त्य गर्दै छु। लागुपदार्थले आफ्नो ज्यान लिने मात्र होइन आफु नजिकका सबैको जिन्दगी नै खराब बनाइदिन्छ। हो हामीले गल्तीबाट नै त सिक्नुपर्छ भन्ने युवा जमातले के पनि बुझ्न जरूरी छ भने लागूऔषध दुर्व्यसन गल्ती होइन “आत्महत्या” हो।