नमुना प्रश्नपत्र - I: अनिवार्य नेपाली

नमुना प्रश्नपत्र -I

विषय: अनिवार्य नेपाली

पूर्णाङ्क: १००

समय: ३ घण्टा                           

 

*परीक्षामा सृजनात्मक र मौलिक उत्तरलाई बढी प्राथमिकता दिइनेछ, त्यसैले विद्यार्थीले सृजनात्मक र मौलिक उत्तर लेख्नका लागि प्रयत्न गर्नुपर्छ।

 

१. समूह ‘क’ मा दिइएका शब्दहरूको अर्थ समूह ‘ख’ बाट पहिचान गरी उत्तरपुस्तिकामा लेख्नुहोस्: [४]

‘क’                                     ‘ख’

ललाट                                सुवास

वेदी                                  बाटाखर्च

रिहाइ                                सामेल हुने काम

सामल                                स्पष्ट

सौरभ                                अन्न राख्ने ठाउँ

इखालु                                पुर्पुरो

खुलासा                               छुटकारा

भकारो                               धार्मिक मञ्च

अपमानलाई मनमा लिने               वेदसँग                               

सम्बन्धित                               गोबर

 

२. खाली ठाउँमा उपयुक्त शब्द भर्नुहोस्: [३]

क. ........................अनेकार्थी शब्द हो । (भोटो, टोपी, खोटो)

ख. ..................अनेकार्थी शब्द होइन । (दल, थल, फल)

ग. ‘जमर्काे’ को पर्यायवाची शब्द ........हो । (प्रभाव, प्रचार, प्रयास)

घ. ‘आश्चर्य’ को पर्यायवाची शब्द ......हो । (उदेक, सुख, मजा)

ङ. ‘उपकार’ को विपरीतार्थी शब्द .......हो । (अहित, अपकार, भलाइ)

च. ‘यश–यस’ ............शब्द हुन् । (अनेकार्थी, श्रुतिसमभिन्नार्थी, पर्यायवाची)

 

३. अर्थ स्पष्ट हुने गरी वाक्यमा प्रयोग गर्नुहोस्: [५] 

लहलह, सिँगौरी खेल्नु, नि, निशस्त्रीकरण, आकाशको फल आँखा तरी मर्

 

४.

क. तल दिइएका वाक्यलाई शुद्ध गरी सार्नुहोस्: [३]

लामो सूस्केरा हालेर धौम्यले भने न्यायको पक्षको फलत तपाइँले देश निकाला पो पाउनुभयछ ।

ख. तल दिइएका शब्दसमूहबाट शुद्ध शब्द छानी लेख्नुहोस्: [२]

अ. ब्यवसायी, व्यबसायी, व्यवसायी, ब्यबसायी

आ. खोजिनिती, खोजीनिती, खोजीनीति, खोजिनीती

इ. सञ्चयकोष, संचयकोष, सन्चयकोष, सन्चयकोश

ई. आसास्तम्भ, आशाश्तम्भ, आसाश्तम्भ, आशास्तम्भ

 

५. रेखाङ्कित शब्दहरूको पदवर्ग छुट्ट्याउनुहोस्: [४]

सभासद्हरूले संविधान निर्माण गर्ने गहन जिम्मेवारी पाएका छन् तापनि उनीहरू दलगत स्वार्थमा डुबेपछि बिचरा जनताहरू साह्रै चिन्तित किन नबनून् त ?

 

६.

क. तल दिइएका उपसर्ग र प्रत्यय लगाई एकएकवटा शब्द बनाउनुहोस्: [२]

उपसर्ग: सम्, अति

प्रत्यय:  अक्कड , ईय

ख. समास वा विग्रह गर्नुहोस्: [२]

पाँच शीलहरूको समूह, माछापुच्छ्रे, कालो माटो , वनभोज

 

७. कोष्ठकमा दिइएको धातु र सङ्केतका सहायताले खाली ठाउँ भर्नुहोस्: [५]

क. हिजोआज जाडो निकै  ................। (बढ्: पूर्ण वर्तमान)

ख. प्रवेशिका ल्याकत परीक्षाको नतिजा छिटै .....। (निस्क: सामान्य भविष्यत्)

ग. हामी शैक्षिक भ्रमण.................। (जा: पूर्ण भूत)

घ. सभासद्हरू संविधान निर्माणमा  ..... । (लाग्: इच्छार्थक)

ङ. उनीहरू मनकामना दर्शन गरेर   ....। (फर्क: सम्भावनार्थ)

 

८. कोष्ठकमा दिइएको सङ्केतका आधारमा वाक्यपरिवर्तन गर्नुहोस्: [५]

क. आफू त दिनभर सुतियो । (कर्तृवाच्य)

ख. तिमीहरू देशका असल नागरिक हौ । (प्रथम पुरुष)

ग. सोनामले कथा पढेको छ । (प्रेरणार्थक)

घ. जहाँ नारीको कदर हुँदैन त्यहाँ ईश्वरको बास हँुदैन । (सरल वाक्य)

ङ. मिहिनेत गरे फल पाइन्छ । (अकरण)

 

९. तल दिइएको गद्यांश पढी सोधिएका प्रश्नहरूको छोटो उत्तर दिनुहोस्: [५]

विकासको माध्यमबाट आºनो सामाजिक, आर्थिक अवस्था सुधार्न पाउनु मानिसको नैसर्गिक अधिकार भएकाले यसका लागि प्राकृतिक तथा भौतिक स्रोतको उपयोग पनि गर्नुपर्ने हुन्छ तर यी स्रोतको अन्धाधुन्ध प्रयोग भएमा निश्चित रूपमा वातावरणीय विसङ्गति बढ्ने भएकाले स्रोतको  उपलब्धता विचार गरी यसको कसरी दिगो उपयोग गर्न सकिन्छ  त्यसतर्फ पनि ध्यान केन्द्रित गर्नुपर्ने हुन्छ । साथै यी स्रोतको उपयोग गर्दा वातावरणमा प्रतिकूल प्रभाव पार्नु हुँदैन । यस कुरामा स्टकहोम सम्मेलन र ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न वातावरण र विकास सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनहरूमा व्यापक आवाज उठेको थियो र विकास कार्यमा वातावरणीय पक्षलाई एकीकृत गर्दै लैजाने सहमति पनि कायम भएको थियो । वातावरणको क्षेत्रमा विकसित र विकासशील राष्ट्रका आ–आºनै प्राथमिकता छन् । अगिल्लो समूहका देशहरू प्रदूषणजन्य समस्याबाट पीडित भएकाले वातावरणीय प्रदूषण कम गर्नेतर्फ बढी क्रियाशील छन् भने पछिल्लो समूहका देशका जनताहरू स्रोतको दिगो उपयोग गरी गरिबी र पछौटेपन हटाउनु पर्ने कुरामा जोड दिन चाहन्छन् । यो वास्तविकता हो, बाध्यता हो, आवश्यकता हो तर यसका लागि आवश्यक पर्ने वित्तीय स्रोत र प्रविधिको अभावमा आºनो स्रोत पनि उपयोग गर्न नसकी गरिब मुलुक अझ गरिब हुँदै गएका छन् । यसरी हेर्दा आज विकसित देशहरू आर्थिक विकासबाट सिर्जित वातावरणीय समस्याबाट पीडित भएको देखिन्छ भने अल्पविकसित देशका जनता आºना स्रोतको उपयोग गर्ने प्रक्रिया वा स्रोतको उपयोग गर्न अक्षम भएका कारणबाट सिर्जित वातावरणीय समस्याको जालोमा फसेका छन् ।

प्रश्नहरू:

क. के भएमा वातावरणीय विसङ्गति बढ्छ ?

ख. राष्ट्रसङ्घीय सम्मेलनमा भएको सहमति के हो ?

ग. विकसित र विकासशील राष्ट्रका प्राथमिकताहरू केके हुन् ?

घ. अल्पविकसित देशका जनताहरू वातावरणीय समस्यामा फस्नाको कारण के हो ?

ङ. ‘प्रदूषण’ र ‘एकीकृत’ शब्दको अर्थ लेख्नुहोस् ।

 

१०. तल दिइएको गद्यांशबाट चारवटा बुँदा टिपी सारांश लेख्नुहोस्: [२+३=५]

मिथिला चित्रकलामा प्रशस्त मात्रामा प्रतीकहरूको प्रयोग भएको पाइन्छ। यस्ता प्रतीकहरू पस्तौँपुस्तादेखि जनमानसमा स्थापित हुँदै आएका छन्। त्यसकारण पूजाआजा, चाडपर्व, विवाह, व्रतबन्ध आदि अवसरमा कुनकुन प्रतीकको प्रयोग गर्ने भन्नेबारे एउटा परम्परा नै बसेको छ। यस्ता प्रतीकहरूले एकातिर लोकको विचार र मङ्गल भाव व्यक्त गरेका हुन्छन्। मिथिला लोकचित्रहरूमा यस्ता प्रतीकहरूको संयोजन अत्यन्त कलात्मक रूपमा गरिएको हुन्छ। यस्ता प्रतीकहरूको स्रोत प्रकृति हो,यसको आधारमा पशुपन्छी, जीवजन्तु तथा फूलहरुको चित्र बनाइएको हुन्छ। यस चित्रकलामा हात्तीलाई शुभ, वैभव र नारी जातिको प्रतीक मानिएको पाइन्छ। घोडालाई बल र पुरुष जातिको प्रतीकका रूपमा लिइन्छ। त्यसरी नै गाईलाई पवित्रता र मातृत्वको प्रतीक पनि मानिएको पाइन्छ। सुगालाई गुरु र मित्रताको, माछालाई उत्पादन शक्ति र नारी जातिको प्रतीक पनि मानिएको पाइन्छ। अन्य जीवजन्तुहरूमा कछुवालाई विष्णु एवम् पुरुष जातिको र हाँसलाई सौन्दर्य तथा विवेकको प्रतीक मानिन्छ। कमलको फूललाई कोमलता, स्नेह, वैभव र नारीको तथा कदम्बको फूललाई प्रेमको प्रतीक मानिएको पाइन्छ। यी प्रतीकहरू सामाजिक तथा साँस्कृतिक महत्त्वका छन्। समाजलाई एकतामा आबद्ध गर्न यो साँस्कृतिक कला निकै प्रभावशाली रहेको देखिन्छ।

 

 

११. तल दिइएका प्रश्नहरूमध्ये कुनै एक प्रश्नको उत्तर दिनुहोस्: [५]

क. दिइएका बुँदाहरूका आधारमा छोटो जीवनी तयार पारी शीर्षक राख्नुहोस्:

नाम: मोतीराम भट्ट

जन्ममिति: वि.सं. १९२३, भाद्र कुशेऔँसी, काठमाडौँ, भोसिको टोल

पिता: दयाराम भट्ट

माता: रिपुमर्दिनीदेवी

प्रमुख कृतिहरू: प्रह्लादभक्तिकथा, पिकदूत, उषाचरित्र, गजेन्द्रमोक्ष, मनोद्वेगप्रवाह, कविसमूह वर्णनम्,  भ्रमरगीत, (कविताकाव्य), प्रियदर्शिका (नाटिका), शकुन्तला (नाटक), भानुभक्तको जीवनचरित्र (जीवनी) आदि ।

साहित्यिक योगदान:

— नेपाली काव्यजगत्मा समस्यापूर्तिको शुभारम्भकर्ता,

— भारतजीवन नामक प्रेस खोली त्यसको व्यवस्थापक आफैँ भएर त्यस प्रेसबाट भानुभक्तीय ‘रामायण’ को बालकाण्डका साथै ‘गोरखा भारतजीवन’ भन्ने नेपाली भाषाको पत्रिका प्रकाशन,

— नेपाली साहित्यको माध्यमिक कालका केन्द्रीय प्रतिभा,

— प्रथम नेपाली गजलकार, कवि, नाटककार, जीवनीकार, समालोचक, अन्वेषक, पत्रकार आदि बहुमुखी व्यक्तित्वका धनी,

— भाषाप्रेमी, देशप्रेमी, सौन्दर्यप्रेमी, प्रसिद्ध कवि,

— बनारस र काठमाडौँमा रहँदा मोतीमण्डलीको स्थापना गरी नवोदित प्रतिभाहरूका लागि उपयुक्त वातावरणको सिर्जना गरेका,

मृत्यु: वि. सं.१९५३ भाद्र कुशेऔँसी, काठमाडौँ।

 

ख. दिइएका बुँदाहरूका आधारमा छोटो कथा तयार पारी उपयुक्त शीर्षक दिनुहोस्:

एकादेशमा एउटा क्रूर शासक हुनु ......... काम गर्दा नोकरबाट एउटा गमला फुट्नु .........गमला ऐतिहासिक महत्त्वका पच्चीसमध्ये एक हुनु .........शासकलाई झोक चल्नु .........मृत्युदण्डको घोषणा गर्नु .......समाजको बूढो व्यक्तिले त्यो खबर सुन्नु ......... बूढाले उस्तै गरी जोड्न सक्ने घोषणा गर्नु ......... शासकले बूढालाई दरबारमा झिकाउनु ......... गमला जोड्ने निर्देशन दिनु ......... बूढाले सबै गमलालाई फुटाइदिनु ......... त्यसरी फुटाउनुको कारण सोधिनु ......... २५ जना निर्दोष व्यक्ति मारिन सक्ने हुँदा आफू मरेर तिनलाई बचाउन चाहेको बूढाले जानकारी दिनु ......... शासकले मानवजीवनको मूल्य बुझ्नु ......... बूढो व्यक्तिलाई सम्मानित गर्नु ......... आवेशमा कुनै निर्णय गर्न नहुने सन्देश ।

 

१२. वैदेशिक रोजगारको खोजीमा भौंतारिरहेका आफ्ना दाजुलाई स्वदेशमै बसी आयआर्जन गर्न आग्रह गर्दै एउटा चिठी लेख्नुहोस। [५]

 

१३. तल दिइएका मध्ये कुनै ‘एक’ प्रश्नको उत्तर लेख्नुहोस्: [५]

क. विपक्षीको मतको खण्डन गर्दै ‘विलासी जीवनभन्दा सादा जीवन नै बेस हुन्छ’ भन्ने वादविवादको विषयमा पक्षका तर्फबाट आºना गहकिला तर्कहरू प्रस्तुत गर्नुहोस् ।

ख. जिल्लास्तरीय प्रवेशिका ल्याकत परीक्षामा सर्वप्रथम भएको खबर सुनेपछि आºनो मनमा उब्जिएका भावनाहरू समेटी मनोवाद तयार पार्नुहोस् ।

 

 

१४. कुनै ‘एक’ शीर्षकमा २०० शब्दमा नघटाई निबन्ध लेख्नुहोस्: [१०]

क. मेरो देश: मेरो सर्वस्व

ख. समावेशी लोकतन्त्र

ग. नेपालका प्राकृतिक सम्पदाहरू

 

१५. कुनै ‘एक’ उद्धरणको सप्रसङ्ग व्याख्या गर्नुहोस्: [५]

क. चौतारीमा वरपिपलको बोट नौलो लगाऊँ

छाहारीको तलतिर बसी गीत एउटा म गाऊँ ।

ख. भोलिवाद हाम्रो संस्कृति हो, दर्शन हो, राजनीति हो, प्रशासन हो, सामाजिक व्यवहार हो ।

 

१६. कुनै ‘दुई’ प्रश्नको सङ्क्षिप्त उत्तर दिनुहोस्: [१०]

क. इमानसिंह चेमजोङको जीवनीबाट लिन सकिने प्रेरणा के हो ?

ख. यन्त्रमानव विभिन्न क्षेत्रमा लोकप्रिय बन्दै जानुका कारणहरू के–के हुन् ?

ग. ‘सहिदहरूको सम्झनामा’ कविताको मुख्य भाव के हो ?

 

१७. यदि तपाईं न्यायको पक्ष कथाको पात्र धृतराष्ट्र हुनुभएको भए आफ्नो छोरा र पाण्डवहरूबीचको झगडामा कस्तो भूमिका निभाउनुहुन्थ्यो? तर्क दिनुहोस्। [५]

 

१८. कुनै ‘एक’× प्रश्नको विवेचनात्मक उत्तर दिनुहोस्: [१०]

क. ‘कर्तव्य’ कथामा कथाकारले नेपाली समाजका केकस्ता वास्तविकताहरूलाई देखाउन खोजेका छन् ?

ख. दक्षिण अफ्रिकाको स्वतन्त्रता र त्यहाँका जनताको मुक्तिका लागि नेल्सन मन्डेलाले पुर्‍याएको योगदानबारे वर्णन गर्नुहोस् ।

DISCUSSIONS ABOUT THIS BLOG

No discussion on this blog yet. Be first to comment on this blog