गोनु झा र आकासे दरबार

एकदेशमा आफ्नो देशमा के-कस्ता विद्वान छन् भनी पहिचान गर्न राजाको मनमा इच्छा लाग्यो। उनले सबैभन्दा विद्वान व्यक्तिको पहिचान पश्चात् राज्य सञ्चालनमा पनि सहज हुने ठानी झ्याली पिटाउन लगाए। जसका फलस्वरूप बुद्धिमानी पनि कहलिने र मन्त्रीसमेत हुन पाइने आशामा सबै दरबारमा निवेदन दिन गए। निवेदन दिनेहरूका बीचमा गोनु झा पनि थिए। उपस्थिति सबैलाई राजाले सम्बोधन गरे। उनले एउटा आकाशे दरबार बनाउने इच्छा प्रकट गरे। "जो आकाशे दरबार बनाउन सक्नुहुन्छ, कृपया मलाई आफ्नो नाम भन्नुहोस्, म त्यस व्यक्तिलाई मन्त्रीपदमा समेत नियुक्त गर्नेछु।"

राजाको घोषणा सुनेर सबै दङ्ग परे। कोही बोलेनन्। सबैले आकाशमा दरवार बनाउनु असम्भव छ भनी केही नबोली चूपचाप लागे। कैयनले त राजाले हामीलाई मुर्ख बनाए पनि भने।

भिडमा भएका गोनु झाले त्यतिबेला राजा सामु विन्ति गरे, "‘सरकार, म हजुरको इच्छा बमोजिमको आकाशे दरबार निर्माण गर्ने छु, तर..."

"तर के?", राजाले आर्श्चर्य प्रकट गरे।

"सरकार तर… म चार महिनापछि मात्र दरबार निर्माण गर्ने छु। अनि दरबार बनाउने काममा आवश्यक सामाग्रीहरु इंटा, ढुङ्गा आदि सबै हजुरका तर्फबाट पुर्याउन पर्छ।" गोनु झाका यति कुरा सुनेर राजाले "हुन्छ, म त्यहीँ पुर्याइ दिउँला" भने।

चार महिनापछि गोनु झा दरबार बनाउने ठाउँमा उपस्थित भए। अरू सबैलाई गोनुझाले आकाशे दरबारको जग हाल्ने कार्य हेर्न निम्तो पनि गरेका थिए। सबैमा ठुलो उत्सुकता थियो। त्यतिकैमा नजिकैका रुखका हाँगाबाट आवाज आयो "आऊ भाइ आऊ, इंटा ल्याऊ, काठ ल्याऊ, महल बनाऊ।" मानिसहरू कताबाट आवाज आयो भनी चारैतिर हेर्न थाले।

कतै केही थाहा नपाएपछि राजाले गोनु झालाई सोधे, "होइन, के भनेको यो इंटा ल्याऊ, काठ ल्याऊ?"

प्रत्युत्तरमा गोनु झाले हाँस्दै भने, "सरकार, आकाशमा सिकर्मी, डकर्मी पुगिसके। यिनीहरू ज्यामीलाई काठ र इंटा ल्याउ भनीरहेका छन्। सरकारले सामान माथि पुर्‍याउनुपर्‍यो।"

तब फेरि माथिबाट आवाज आयो, "छिटो गर, छिटो गर, ढिलो भयो, काठ ल्याऊ, इंटा ल्याउ।" यो सुनेपछि राजाले गोनु झाको चतुर्‍याइँ बुझिहाले।

उनले मुस्कुराउँदै भने, "तिमी परीक्षामा सफल भयौ, तिमीलाई म तिमीले भने अनुसारको पद दिउँला। अनि सोधे यो काम तिमीले कसरी गर्‍यौं?"

अनि गोनु झाले भने, "सरकारले दरबार बनाउने आज्ञा दिएपछि मैले मैना र सुगा किनेँ। तिनीहरूलाई चार महिनासम्म ’इंटा ल्याऊ, काठ ल्याऊ, ढिला नगर, महल बनाऊ’ भन्न सिकाएँ। तिनै चराहरू हाँगामा बसेर कराएका हुन्। अब दरबार बनाउने भए सरकारले ज्यामीहरूलाई आकाशमा इंटा र काठ बोकाई पुर्‍याउन लगाउनुहोस्। तब गोनु झाको कुरा सुनेपछि राजा मुसुमुसु हाँसे। त्यहाँ उपस्थित सबैले उनको बठ्याइँको प्रशंसा गर्दै घर फर्किए।

 

टिप्पणी:

गोनु झालाई तर्क, बुद्धि एवं धुर्त्याइँले जित्न साह्रै मुस्किल थियो । गोनु झा चतुर्र्‍याइँ, न्याय र वाक्पटुतामा निपुण थिए । उनका गुणहरूको कदर त्यतिबेलाका राजा पनि गर्दथे र उनी प्रतिष्ठित व्यक्तिहरूमध्ये गनिन्थे । त्यसो त गोनु झाका बारेमा रमाइला र घतलाग्दा थुप्रै कथाहरू छन् तापनि उनका बठ्याइँ देखिने एक कथा यहाँ प्रस्तुत गरिएको छ ।

 

(स्रोत : मुना २०६७ चैत, www.sahityasangraha.com)

DISCUSSIONS ABOUT THIS BLOG

No discussion on this blog yet. Be first to comment on this blog