राजाको आँखासम्म फोड्ने पाटनका ६ प्रधान कस्ता थिए त?

पाटनको राजनीतिबाट योगमतीको बल कमजोर हुन थालेपछि पाटनको दरबारका काजी तथा भारदारहरु बिस्तारै शक्तिशाली हुन थाले। यी भारदारहरुमध्ये पनि ६ जना राजनीतिमा बढी चलाख थिए। ती प्रधानहरुलाई संयुक्त रुपमा “६ प्रधान” भनिन्थ्यो। इन्द्र मल्लकी बहिनी पुणमतिको छोरा विष्णु मल्लले पाटनमा शासन गरिरहँदा यी छ प्रधानको केहि प्रभाव लागेको थिएन। तर विष्णु मल्लको मृत्युपछि राजा भएको जय प्रकाश मल्लका भाइ राज्यप्रकाश मल्लको समएमा भने यी छ प्रधान निकै सक्रिय भए। विष्णु मल्ल नि:सन्तान भएकाले उनले राज्यप्रकाश मल्ललाई आफ्नो उत्तराधिकारी बनाएका थिए। त्यसै हुनाले विष्णु मल्लको देहान्तपछि वि.सं. १८०२ मा प्रधानहरुले राज्यप्रकाश मल्ललाई पाटनको राजगद्दीमा राखे। गोर्खाका राजा पृथ्वीनारायण शाहले नुवाकोट विजय गरेर उपत्यकामा नाकाबन्दी गर्दै अगाडि बढ्दै गएको देखेर जयप्रकाश मल्लले पृथ्वीनारायाण शाहसँग मित्रता गर्न खोजे। तर उनको यो प्रयास असफल भयो।

जय प्रकाश मल्लजय प्रकाश मल्ल

वि. सं. १८१४ जेठ १९ गते शनिवारको दिन पृथ्वीनारायण शाहले किर्तिपुरमा आक्रमण गरे। यस युद्धमा कान्तिपुरका राजा जयप्रकाश मल्ल र उनको भाइ राज्यप्रकाश मल्ल मिलेर गोर्खालीहरुलाई हराएका थिए। युद्धमा जयप्रकाश मल्लले आफ्नो फौजको नेतृत्व आफैले गरेका थिए। यो कुरा प्रधानहरुलाई राम्रो लागेको थिएन र राज्यप्रकाश मल्ललाई राजा भएर शान्तिले काम गर्न दिन चाहदैन थिए। राजासँग कहिले कुरा नमिलेको हुनाले छ प्रधानहरु मिलेर राजाको आँखा फुटाईदिए। वि.सं. १८१५ मा आँखाको पीडाले गर्दा राज्यप्रकाश मल्लको मृत्यु भयो। उनको मृत्यु भएकै दिन छ प्रधानमध्ये एक प्रधान भिख्वल धनकाजीले अठार वर्षका विश्वजित मल्ललाई पाटनको राजा बनाए। तर यिनी पनि २ वर्षभन्दा बढी टिक्न सकेनन्।

एक वंशवलीका अनुसार काजी कलिदसकी छोरी मैजुथकुको विवाह चाकुबहाल काजीकी छोरीसँग भएको थियो। तिनै मैजुथकुलाई विश्वजितले आफ्नो स्वास्नी बनाएका थिए। यसैकारण रिसले मैजुथकुको लोग्ने र सालो मिलेर विश्वजितलाई घिच्चाउदै त्यतिबेलाको जार काट्ने चलन अनुसार तलेजु लगेर काटेका थिए। राज्यको हैकम चलाउन र राजा फेर्न सिपालु यी छ प्रधानहरुले राजा विश्वजितलाई झुठो आरोप लगाएर मरेको पनि हुन सक्ने कुरा उल्लेख गरिएको छ।

जयप्रकाश मल्ल आफ्नो भाइलाई आखाँ फुटाएर मारेको कारणले छ प्रधानहरुसँग निकै रिसाएका थिए। यही कारणले गर्दा ६ प्रधानहरुले उनलाई फकाउनको लागि वि.सं. १८१७ मा पाटनको राजा बनाइदिए। राजा जयप्रकाशको कडा स्वभावले गर्दा उनको छ प्रधानहरुसँग सम्बन्ध राम्रो हुन सकेन। त्यसै हुनाले राजगद्दीमा बसेको डेढ बर्ष पछि नै टेकु दोभानमा नुहाउन गएको बेला जय प्रकाश मल्ललाई छ प्रधानहरुले त्यहिंबाट नै धपाए। त्यसपछि भक्तपुरको राजा रणजित मल्ललाई पाटनको राजा बनाइयो। रणजित मल्लले अनेक प्रशासनिक सुधार गरेर छ प्रधानहरुको क्रियाकलापमा अंकुश लगाउने प्रयास गरे। उता जयप्रकाश मल्ल आफु आपमानित भएकाले छ प्रधानहरुसँग बदला लिने मौका पर्खिरहेको थिए।  जय प्रकाश मल्ललाई फकाउनको लागि रणजित मल्ल संखमुलमा श्राद्ध गर्न गएको बेला धपाएर फेरि जयप्रकाश मल्ललाई नै राजा बनाइदिए।

पृथ्वीनारायण शाहले उपत्यकामा आर्थिक संकट उत्पन्न गरेर चारै तर्फबाट विजय प्राप्त गरेको देखेर प्रधानहरुले उनलाई पाटनको राजा बन्न अनुरोध गरे। राजा जयप्रकाश मल्लले यो कुरा सुनेर छ प्रधानहरुलाई आवश्यक सल्लाह गर्न किर्तिपुरमा बोलाए र कसैलाई मार्ने र कसैलाई थुन्ने काम गरे। काजी भिख्वाल धनकाजीले आफ्नो निकै अपमान साहना नसकेर आत्महत्या गरे। राजा जयप्रकाश मल्लले पाटनको जनताहरुको आनुरोध स्वीकार गरेर कैदी प्रधानहरुलाई रिहा गरे। कैदबाट मुक्त भएपछि पनि ति प्रधानहरुको स्वभावमा केहि सुधार नभएको देखेर आफ्नो ज्यान खतरामा छ भनेर पाटनबाट राजा जयप्रकाश भागे।

पृथ्वीनारायण शाहपृथ्वीनारायण शाह

त्यसपछि छ प्रधानहरुले पृथ्वीनारायण शाहलाई पाटनको राजा बन्न आनुरोध गरे। तर पृथ्वीनारायण शाहलाई उनीहरुको गतिविधि बारे राम्रोसँग थाहा थियो। उनी आफ्नो साटो उनको भाइ दलमर्दन शाहलाई पाटनको राजा हुन पठाए। वि.सं. १८२० मा फागुन ९ गते दलमर्दन शाह पाटनको राजगद्दीमा बसे र उनको सुरक्षाको निम्ति हरेक प्रधानहरुको एक-एक छोरालाई गोरखामा राखियो। दलमर्दन शाहको शासनको समयमा पाटनको सबै गतिविधिको जानकारी पृथ्वीनारायण शाहलाई भइरहेका थियो। छ प्रधानहरुले दलमर्दन शाहलाई उनको दाजुको विरुद्ध प्रयोग गर्न खोज्दा असफल भए।

वि.सं. १८२२ चैत्र ३ गते गोर्खालीहरुले किर्तिपुरमा विजय प्राप्त गरे। दलमर्दन शाहको पनि यो युद्धमा निकै सहयोग थियो। त्यहि भएर प्रधानहरुले दलमर्दन शाहलाई कैद गरे र पाटनको एक व्यापारी तेज नरसिंह मल्ललाई राजा बनाए। दलमर्दन शाह पछी भागेर पृथ्वीनारायण शाहसंग मिल्न गए। पाटनका एक प्रधान धनवन्त काजीले पृथ्वीनारायण शाहसंग किर्तिपुर विजय अघि नै मित्रता गरिसकेका थिए। वि.सं. १८२५ असोज १३ गते पृथ्वीनारायण शाहले कान्तिपुरमा विजय प्राप्त गरेपछि जयप्रकाश मल्ल फेरी भागेर पाटन पुगे। त्यहाँपनि प्रधानहरु आत्मसमर्पण गर्ने देखेर तेज नरसिंह मल्ल र जयप्रकाश मल्ल भक्तपुर भागे। यसरी लगभग २५ वर्ष सम्म पाटनको व्यवस्थापन आफ्नो हातमा राखेर मनपरी गरेर कानुन चलाएपछी यी छ प्रधानहरु पनि हारे। पाटनमा मल्लवंसको समाप्ति गर्नमा उनीहरुको हात थियो। यदि तिनीहरुले पाटन र पाटनको जनताहरुको हितमा बसेर पाटनलाई सबल बनाउने काममा लागेको भए पाटनको त्यस्तो दुर्दशा हुने थिएन।

 

 

 

 

 

 

 

लेख साभार: प्रा. डा. श्रीरामप्रसाद उपाध्याय - नेपालको प्राचीन र मध्यकालीन नेपालको इतिहास

फोटो साभार: wikipedia, ecs.com.np

DISCUSSIONS ABOUT THIS BLOG

No discussion on this blog yet. Be first to comment on this blog